सर्पदंशबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

असार १७, २०८० मा प्रकाशित | 273 views

सर्पदंशबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सर्पदंशबाट बच्न आग्रह गरेको छ । गर्मी र बर्खायाममा विशेषगरी तराई क्षेत्रमा विषालु सर्प देखिने भएकाले मन्त्रालयले सर्पदंशबाट जाेगिन आग्रह गरेकाे हाे ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले याे माैसममा सर्पकाे डर बढी नै हुने भएकाले विशेष सावधानी अपनाउन सुझाव दिनुभएकाे छ ।

राति हिँड्नुपरे टर्च लाइट लिएर हिँड्न, जुत्ता वा गमबुट लगाउन, खुट्टा राम्ररी छोप्ने बाक्लो पाइन्ट लगाउन, घर वरपरको घाँस झारपात काटेर सफा राख्न एवं जमिनका दुला टाल्न उहाँकाे आग्रह छ ।

यस्तै पराल, दाउरा आदि लिन जाँदा होसियारी अपनाउन, सुत्नुअघि ओछ्यान, खाटमुनि र वरपर राम्ररी हेर्न, सधैँ झुल टाँगेर सुत्न मन्त्रालयकाे सुझाव छ ।

सर्पले टोकिहाले के गर्ने ?

मन्त्रालयका अनुसार सर्पले डसेको ठाउँलाई चल्न नदिइ स्थिर राख्ने, सर्पले टोकेको ठाउँमा काट्ने, चुस्ने बाँध्ने नगर्ने तथा मलम, टोकेको ठाउँमा रासायनिक पदार्थ तातो–चिसो प्रयोग नगर्ने र बिरामीको आत्मविश्वास कायम राख्ने गर्नुपर्दछ।

यस्तै, धामी–झाँक्रीतिर नलाग्ने, विष सोस्ने कुराको पछि नलाग्ने, सम्भव भएसम्म डस्ने सर्पको पहिचान गर्ने तर नमार्ने, जति सक्दो चाँडो अस्पताल वा सर्प उपचार केन्द्रमा बिरामीलाई पुर्याउनुपर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web