राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण

जेष्ठ १७, २०८० मा प्रकाशित | 302 views

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको छ । आज बिहान उहाँले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

गएको जेठ १२ गते सरकारले राष्ट्रपति पौडेललाई प्रमाणीकरणका लागि अनुरोध गरेको थियो ।

अघिल्लो प्रतिनिधिसभाकै बेला संघीय संसद्बाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले उज्यालोलाई जानकारी दिनुभयो।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी रोक्नुभएको थियो । त्यही विधेयक अहिले प्रमाणीकरण भएको हो ।

यसअघि संघीय संसदले २०७९ साउनमा नागरिकता विधेयक पास गरेर प्रमाणीकरणको लागि राष्ट्रपतिकोमा पठाएको थियो । तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाइदिनुभएको थियो । तर राष्ट्रपतिको सन्देशलाई बेवास्ता गर्दै फेरि दुवै सदनले नागरिकता विधेयक हुबहु पारित गरेर भदौ २० गते प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको थियो ।

संविधानअनुसार राष्ट्रपति भण्डारीले विधेयक १५ दिन अर्थात असोज ५ गतेभित्र प्रमाणीकरण गर्नुपर्ने भए पनि प्रमाणीकरण भएको थिएन ।

राष्ट्रपति कार्यालयमा होल्ड भएको विधेयकको अवस्था के हुने भन्ने प्रष्ट नभएको बेला गएको १२ गते बसेको  मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

विधेयकमा २०७२ असोज ३ अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकका सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने उल्लेख छ । 

कानुन नहुँदा यसअघि जन्मका आधारमा नागरिकता लिएका सन्तानमध्ये ५ लाखभन्दा धेरैले नागरिकता लिनबाट वञ्चित भएको तथ्याङ्क छ ।

यस्तै नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको नाबालकलाई निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मान्ने, नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने प्रावधान पनि छ ।

यस्तै विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट नेपालमा जन्मिएको व्यक्तिले नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेमा त्यस्तो व्यक्तिले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेलगायतका प्रावधान विधेयकमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web