काठमाडौँ । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुन लागेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले परीक्षाको लागी आवश्यक सबै तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गर्नुभएको छ । देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न गर्नको लागी बोडले आवश्यक निकायहरुसंगको समन्वय पूरा गरेको उहाँले बताउनुभएको छ ।
कक्षा १२ को यस वर्षको वार्षिक परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभएको छ । परीक्षाका लागि देशभर एक हजार चार सय ५७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
उहाको अनुसार परीक्षाका लागि केन्द्राध्यक्ष, सह–केन्द्राध्यक्ष, निरीक्षक र सहायक नियुक्त गरी परीक्षाका लागि परिचालन गर्न तयार गरिएको छ भने परीक्षाका लागि आवश्यक सामग्री जिल्ला जिल्लामा यसअघि नै पुगिसकेको छ ।
यो वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने भएका छन् । उनीहरूले जति विषयमा कम नम्बर आएको थियो सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यो निर्णयबाट ग्रेडवृद्धि परीक्षामा सहभागी हुन लागेका विद्यार्थीहरु उत्साहित देखिएका छन् ।
तीन वा त्यो भन्दाबढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै सबै विषयकै परीक्षा फारम भरेपनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेसँगै अब नन ग्रेडेड ल्याएका विषयको मात्रै परीक्षा दिए हुने व्यवस्था गरिएको हो ।
बोर्डले लागू गरेको लेटर ग्रेडिङ प्रणालीअनुसार दुईभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो तर, त्यसो गर्दा गएको वर्ष भएको ग्रेड वृद्धि परीक्षामा विद्यार्थीको सहभागिता घटेर ड्रप आउट हुने जोखिम बढेपछि मन्त्रालयले निर्देशिका संशोधन गरेको हो ।
19.43¡ÆC