सर्वोच्चको आदेशपछि सिंहदरबारको फोहोर उठ्न थाल्यो

बैशाख ११, २०८० मा प्रकाशित | 232 views

काठमाडौँ । सिंहदरबारको फोहोर उठ्न थालेको छ । सर्वोच्च अदालतले गएको शुक्रवार काठमाण्डाै महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन निर्देशन दिएपछि आज साेमवारदेखि सिंहदरबारको फोहोर उठेको हो ।

महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापन गर्ने कम्पनीलाई फोहोर नउठाउन भनेपछि गएको चैत २६ गतेदेखि सिंहदरबार क्षेत्रको फोहोर उठेको थिएन । केन्द्र सरकारले महानगरले गर्न खोजेका विभिन्न काममा असहयोग गरेको भन्दै मेयर साहले सिंहदरबारको फोहोर उठाउन नदिने अडान राख्नुभएको थियो । मेयर साहको अडानकै कारण सिंहदरबार क्षेत्रको फोहोर व्यवस्थापनमा समस्या आएपछि अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरविरुद्ध रिट दायर गर्नुभएको थियो । रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आदेश प्राप्त भएको मितिले तीन दिनभित्र फोहोर उठाइसक्न महानगरपालिकाका नाममा शुक्रवार आदेश जारी गरेको थियो ।

यसैबीच सिंहदरबारको फोहोरमैला नउठेको विषय अदालतमा प्रवेश गर्नु र फोहोरमैला उठाउन आदेश दिइनुले नागरिकको स्वच्छ र स्वस्थ ठाउँमा बस्न पाउने अधिकारको गम्भीरता भएको थप पुष्टि भएको मेयर बालेन्द्र शाहले बताउनुभएको छ । उहाँले सर्वाेच्च अदालतको आदेश काठमाण्डाै महानगरपालिकाले मात्र नभई सङ्घीय सरकारले पनि पालना गर्नुपर्ने बताउनुभएको छ ।

फेसबुकमा स्टाटस लेख्दै उहाँले सिंहदरबारको फोहोर उठाउने सम्बन्धमा सर्वाेच्चले गरेको फैसलाको सम्मान गर्ने तर आदेशको पालना महानगरले मात्र नभई सङ्घीय सरकारदेखि सबैले पालना गर्नुपर्ने बताउनुभएको हो ।

सर्वाेच्चको आदेश प्राप्त भएको बताउँदै शाहले सर्वाेच्चले यसअघि गरेका फेसलाहरू सङ्घीय सरकारले पालना नगर्नुको कारण सोध्नुभएको छ । उहाँले बाग्मती, विष्णुमती र मनोहरा तथा सहायक नदीहरूको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरू भत्काएर नदीको स्वच्छता कायम गराउने तथा सार्वजनिक जग्गाको संरक्षण गर्नेसम्बन्धी २०७६ साउन २० गतेको सर्वोच्च अदालतको आदेश, स्वास्थ्य मन्त्रालय भवनको मौलिकता बिगारेर थपिएको संरचना भत्काउन २०५७ असार ९ गतेको सर्वोच्च अदालतले दिएको आदेश पनि परिपालना गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web