भैरवी वर्षबन्धन अन्तरगत नुवाकोटको ऐतिहासिक ‘सिन्दुरे जात्रा’ सम्पन्न

चैत्र २६, २०७९ मा प्रकाशित | 332 views

त्रिशूली । नुवाकोटको ऐतिहासिक बैशाख पूर्णिमा जात्राको विशेष दिन हिजो सिन्दुरे जात्रा धुमधामका साथ मनाइएको छ ।

बिहीबार साँझ देवीघाट स्थित जालपादेवी मन्दिरमा जानुभएका धामी हरिमानसिह डंगोल, धमिनी ज्ञानुमायाँ डंगोल सहित भैरवीदेवी मन्दिरको रथ हिजो साँझ भैरवीदेवी मन्दिर परिसरमा पुर्‍याएर सिन्दुर खेलेसगै भैरवी वर्ष बन्धन २०७९ को सिन्दुरे जात्रा पर्व सम्पन्न भएको हो । यद्यपी धार्मिक गतिविधि र पूजाविधि भने आगामी बैशाख ३ गतेसम्म नै कायम रहने बताइएको छ ।

गएको बिहीबार जालपादेवी मन्दिर पुग्नु भएका धामी र भैरवी देवीको रथयात्रा परम्परा अनुसार हिजोसाँझ नुवाकोट भैरवीदेवी मन्दिर परिसरमा पुर्‍याइएको हो ।

देवीघाटबाट फर्कने क्रममा हिजो बिहान नुवाकोट भैरवीदेवी मन्दिर भन्दाकेही तल धरमपानी पुग्नुभएको धामी र भैरवीदेवी मन्दिरको रथ पूजाविधि प्रक्रिया पूरागरेर हिजो अपरान्ह चारबजे नुवाकोटतर्फ प्रस्थान गरिएको थियो ।

भैरवीदेवी मन्दिरको रथ साँझ पाँच बजे लच्याङीहरुले भैरवीदेवी मन्दिर परिसरमा पुर्‍याएका थिए । भैरवीदेवी मन्दिरको रथलाई मन्दिर परिसरमा उकाल्ने क्रममा लच्याङ्गी गुठीयार एवम् जात्रामा सहभागिहरुले भैरवीदेवी माई र जालपादेवी माईको जय–जयकार गाथा गाएका थिए ।

भैरवीदेवीको रथ पुगेको केही समयपछी धामी–धमिनी, कुमार र गणेशलाई छल्लरी छाता ओढाएर विशेष सम्मानका साथ नुवाकोट भैरवीदेवी मन्दिरमा हिजो साँझ साढे पाँच बजे पु¥याइएको थियो ।

भैरवीदेवीको रथ सहित धामी धमिनीलाई धरमपानीबाट भैरवीदेवी मन्दिरसम्म पुर्‍याउने क्रममा नेपाली सेनाको व्याण्डबाजा, स्थानीय नेवार समुदाय लगायतले आफ्नो सँस्कृति र परम्परा अनुसारको बाजागाजा सहित भव्य स्वागत गरिएको थियो ।

धामी/धमिनीलाई धरमपानीबाट नुवाकोट भैरवीदेवी मन्दिर प्रस्थान गराउदाँ विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी सहित नुवाकोट जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, सैन्य तालिम केन्द्र मैथली, जबरजंगगण देवीघाट, जिल्ला प्रहरी कार्यालय नुवाकोट सहित जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुख एंव प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रमुख एंव प्रतिनिधिहरु, सामाजिक सस्था, नागरिक समाज लगायतको प्रतिनिधित्व रहेको थियो ।

सिन्दुरे जात्रा सरकारी जात्रा अन्तरगत मनाइने भएकाले जिल्लाका सरकारी कार्यालयका प्रमुख एंव प्रतिनिधिको उपस्थिती अनिवार्य हुने गरिएको छ । भैरवीको रथयात्रा सहित धामी धमिनी, कुमार र गणेशलाई धरमपानीबाट भैरवीदेवी मन्दिरतर्फ प्रस्थान गराउदाँ नेपाली सेनाले सलामी अर्पण सहित भैरवीदेवी मन्दिरको निशाना झण्डा फहराउदै बजागाजा सहितले सम्मान दिएको थियो ।

भैरवीदेवी रथयात्रा, धामी धमिनी सहितको लावालस्कर भैरवीदेवी मन्दिर परिसरमा रहेको महेश मर्दिन मन्दिर अगाडी पुगेपछि नेपाल सरकारका प्रतिनिधि एंव द्धारे महेन्द्रकुमार शाहीको बाहुलीबाट धार्मिक पूजाविधि अनुसार धामी र धमिनीको माथमा सिन्दुर हालेपछि सबैलाई सिन्दुर छर्कदै यस वर्षको सिन्दुरे जात्राको मुख्य रौनक मनाइएको हो ।

सिन्दुर हालिसेकपछि भैरवीदेवी रथयात्रा सहितको धामी, धमिनी सहितको टोलीे पूजाविधि, भोज र भोगबलीमा सहभागि हुनुभएको थियो । गएरातभर जारी रहेको पूजाको धार्मिक गतिविधि आज आइतबार बिहानसम्म नै चलेको थियो ।

हिजोसाँझ द्धारेबाट धामी धमिनीको माथमा सिन्दुर हालेर यसवर्षको सिन्दुरे जात्राको विशेष रौनक सक्किएपनि भैरवी वर्ष बन्धन २०७९ सालको बाँकी प्रक्रिया र गतिविधि भने आगामी बैशाख ३ गतेसम्म जारी नै रहने नेपाल सरकारका प्रतिनिधि एंव द्धारे महेन्द्रकुमार शाहीले जानकारी दिनुभएको छ ।

यसवर्षको सिन्दुरे जात्राको भैरवी बर्षबन्धन २०७९ अन्तरगत मुख्य रौनक चैत २१ गते निमन्त्रणा पूजा गर्न धामी देवीघाट गएसगैँ सुरु भएको हो । यस्तै, चैत २२ गते साँझ बुढी देवता र भैरवीदेवी मन्दिर परिसरमा लिङ्गो उठाइएको थियो भने २३ गते साँझ भैरवी देवीको रथ सहित धामीधमिनीको लावालस्कर देवीघाट स्थित जालपादेवी मन्दिरमा पुग्नुभएको थियो । जालपादेवी मन्दिर पुराइएको भैरवीदेवीको रथयात्रा २४ गते साँझ र धामीधमिनी सहितको लावालस्कर २४ गते राती फर्किएर २५ गते शनिबार बिहान नुवाकोट स्थित धरमपानीमा आएर बस्नुभएको थियो ।

हिजो २५ गते ३ बजेपछि भैरवीदेवीको रथयात्रा, धामीधमनीको लावालस्कर मन्दिर परिसरमा पुगेर सिन्दुर खेलेसगैँ यो वर्षको भैरवी वर्षबन्धनको मुख्य मुख्य रौनक सम्पन्न भएको हो ।

प्रसिद्ध जालपादेवी, भैरवीदेवी सहित जिवित भगवानको रुपमा रहनुभएका धामी प्रतिको आस्था प्रति सद्भाव राख्दै जात्रा पर्वको अवलोकन गर्नको लागी बुढापाकाहरु मात्र नभई अहिलेका युवा पुस्तादेखि बालबालिहरुको उल्लेख्य सङ्ख्यामा सहभागिता रहेको थियो ।

चैत शुक्ल पूर्णिमाको दिनमा मनाइने भएपनि अहिलेको यो जात्रालाई “बैशाख शुल्क पूर्णिमाको जात्रा”, “धामी जात्रा” देवीजात्रा लगायतको नामले समेत परिचित रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web