रसुवाको लाङटाङ बाहेक सबै गाउँमा नियमित बस सेवा सञ्चालन

चैत्र १८, २०७९ मा प्रकाशित | 248 views

रसुवा । रसुवाको लाङटाङ क्षेत्र बाहेक अन्य सबै गाउँमा नियमित बस सेवा सञ्चालनमा आएको छ । काठमाडौँ लगायत विभिन्न स्थानको यात्रामा जान गाउँ टोलबाटै बस चल्न थालेपछि स्थानीय बासिन्दालाई आउजाउ गर्न सहज भएको छ ।

रसुवा घुम्न पुग्ने पर्यटकलाई समेत यात्रा गर्न सहज भएको छ । प्रत्येक गाउँ टोलमा मोटरबाटो पुर्‍याउन स्थानीय सरकारले सडक निर्माणलाई पहिलो प्राथमिकता दिएका कारण अहिले रसुवाका गाउँगाउँमा बस सेवा सञ्चालन हुन थालेको हो ।

भौगोलिक विकटताले सबैभन्दा बढी दूरदराज मानिएको यार्साको सिङ्वन्दी, गाङ्मर समेतका स्थानमा सडक निर्माण भएपछि बिरामी अस्पताल जान, खाद्यान्न ढुवानी गराउन, गाउँठाउँबाट यात्रा गर्न समेत सहज भएको स्थानीय समाजसेवी लछिन नुर्पु तामाङले बताउनुभएको छ ।

स्थानीय सरकार गठन भएसँगै सडक मार्ग खोल्न गरिएको प्रायास अन्तर्गत हालसम्म ६४ किलोमिटर सडकको ट्रयाक खोल्ने काम सम्पन्न गरी ठाडो खोलाका पुल निर्माण कार्य गराउन लागिएको नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्वु स्याङ्वो घलेले बताउनुभएको छ ।

मोटरबाटो खुलेसँगै स्थानीयस्तरमा उत्पादित कृषिउपज ताजाताजै व्यापारिक केन्द्रमा पुर्‍याउन सहज भएको किसानले बताएका छन् ।

काठमाडौँको बालाजुदेखि रसुवाको सरमथली, यार्सा, भोर्ले, जिवजिवे, कालिकास्थान, डाँडागाउँ, हाकु, मनिगाउँ कर्मिडाँडा, धुञ्चे, गतलाङ, स्याफ्रुबेँसी, चिलिमेको थाम्बुचेत, तातोपानी, थुमन, टिमुरे, बृद्विम समेतका स्थानमा नियमित बस सेवा सञ्चालन भएको नमस्ते पासाङ ल्हामु बस व्यवसायी यातायात समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web