प्रधानमन्त्रीविरुद्धको अविश्वास खेलको फाइनल भोलि

साउन ८, २०७३ मा प्रकाशित
Published at 2016-07-23

504 views

काठमाडौं,साउन ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्तावमाथि आइतबार संसदमा मतदान हुने भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत दलको समर्थनमा कांग्रेस–माओवादी गठबन्धनले पेस गरेको प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावबारे आइतबारै प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची छ आजको नागरिक दैनिकमा खबर छ  ।

शुक्रवारै संसदमा छलफलपछि निर्णयार्थ पेस गरिएका आश्रित बजेटसम्बन्धी तीनवटा विधेयक भने बुहमतले अस्वीकृत भएका छन् । यससँगै ९ महिनाअघि तत्कालीन एकीकृत माओवादीसहित दलको समर्थनमा बनेको ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । संसद् बैठकमा शुक्रबार आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत (२१ औं संशोधन विधेयक) अस्वीकृत भएलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री विरुद्व प्रस्ताव पेस गरेका थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहति १३ दलको समर्थनमा असार २९ गते संसद सचिवालयमा दर्ता गरिएको अविश्वास प्रस्ताव प्रचण्डले शुक्रवार संसदमा प्रस्तुत गरेका हन् ।

२ सय ८१ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै सभामुख ओनसरी घर्तीले संसदको अन्य विजनेस हटाउँदै अविश्वास प्रस्तावमाथि बिहीबारलाई छलफलको कार्यसूची तोकेकी थिइन् । सत्तारुढ दल र प्रतिपक्षीबीच आर्थिक विधेयक पहिला कि प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव भन्नेमा सहमति जुट्न नसक्दा एक दिन ढिलो शुक्रवार मात्र अविश्वास प्रस्ताव संसदमा पेस भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.