काठमाडौँ । आज फागुन शुक्ल प्रतिपदा अर्थात हिमाली शेर्पा समुदायको साँस्कृतिक पर्व तथा नयाँ वर्ष ग्याल्पो ल्होछार विविध कार्यक्रम गरेर देशभर मनाउन लागिएको छ । नयाँ वर्षको रूपमा शेर्पा समुदायले आज २१५०औँ ग्याल्पो ल्होछार पर्व मनाउदै नयाँ वर्षको एक आपसमा शुभकामना साटासाट गरिरहेका छन् ।
हरेक वर्ष भिन्न भिन्न बर्गको रुपमा मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होछारलाई विभाजन गरिएको छ ।
ग्याल्पो ल्होछार फागुन शुक्ल प्रतिपदादेखि आगामी पूर्णिमाको दिनसम्म विभिन्न कार्यक्रमको आयोजना तथा शुभकामना साटासाट गरी भव्य रूपमा मनाइने गरिएको छ । ग्याल्पो ल्होछार भोटका नवौं राजा उदे गुङ्ग्यालको पालादेखि नै बसन्त पर्वका नामले मनाउने गरिएको उल्लेख गरिएको छ । समयक्रममा ग्याल्पो ल्होछार नामकरण भएको शेर्पा समुदायका अनुसन्धानकर्ता विज्ञहरुले बताएका छन् ।
विगतमा हिमाली क्षेत्रका विभिन्न १२ जिल्लामा मनाइने गरिएके ग्याल्पो ल्होछार अहिले २२ भन्दा बढी जिल्लामा विशेष कार्यक्रम गरेर मनाइने गरिएको छ भने यसलाई देशभर नै मनाउनको लागी आज नेपाल सरकारले सार्वजनिक बिदा दिएको हो ।
शेर्पा समुदायको बसाइसराइसँगै ल्होछार पर्व देशभर नै मनाउन थालिएको छ । विशेष गरेर पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले सोनाम ल्होछार पर्व मनाउने गरेका आज शेर्पा समुदायले ग्याल्पो ल्होछार मनाउने गरेका छन् ।
ग्याल्पो ल्होछार पर्व विशेष गरेर शेर्पा समुदायका बासिन्दाले मनाउने भएपनि पछिल्लो समयमा आदिवासी जनजातीको साझा पर्वको रुपमा विकास हुदै गएको छ । शेर्पा समुदायले ल्होछार पर्वलाई ३ दिनसम्म विशेष महत्व दिएर मनाउने भएपनि आगामी पूर्णिमासम्म अर्थात करीब दशदिन नै मनाउन उपयुक्त हुने बताएका छन् ।
आजको ग्याल्पो ल्होछार पर्व शेर्पा, तामाङ, गुरुङ, हुम्ली, मुस्ताङे अनि मनाङै लगायत अन्य धेरै समुदायले साझा पर्वको रुपमा मनाउने गरेका छन् । पर्वको अवसरमा पारिवारिक जमघट तथा आफन्तसंग भेटघाट गरी मीठामीठा परिकार खादै एक अर्कामा नयाँ वर्षको शुभकामना आदानप्रदान गरेर पर्व मनाइने गरिएको छ ।
20.55¡ÆC