यातायात व्यवसायी र मजदुरको आन्दोलन फिर्ता

फाल्गुन २, २०७९ मा प्रकाशित | 304 views

काठमाडौँ । यातायात व्यवसायी र मजदुरहरुले आन्दोलन फिर्ता लिएका छन् ।

बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भएको वार्तामा मजदुरलाई कुटपिट गर्नेमाथि कारबाही गर्ने, ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँबसपार्कमा गरेको भनिएको अनियमितता लगायतका विषयमा छानबिन गर्ने सहमति भएपछि आन्दोलन फिर्ता लिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले यातायात क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएकाले आन्दोलन फिर्ता लिइएको हो ।

ट्राफिक प्रहरीले बढाएको जरिबानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आन्दोलनमा थालेका थिए । ट्राफिक जरिबानाको विषयलाई लिएर यातायात मजदुरहरूले हिजो बालाजु बसपार्क क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो ।

आन्दोलनका कारण बिहान काठमाण्डौ उपत्यकामा कम गाडी चलेका थिए । काम विशेषले हिँड्नेहरु समस्या परेका थिए । अहिले भने गाडीको आवागमन सामान्य भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web