बिदुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको आयोजनामा ४५ जना सवारी चालकको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
ट्राफिक प्रहरी कार्यालय नुवाकोटको आयोजनामा सापकोटा मेडिकल हल तथा पोलिक्लिनिकको प्राबिधिक सहयोगमा सवारी चालक तथा सह–चालकलाई लक्षित गरी आयोजना गरेको स्वास्थ्य परीक्षण शिविरमा ४५ जना चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरिएको हो ।

आज नुवाकोटको बिदुर नगरपालिका वडा नं २ बिदुर स्थित ट्राफिक प्रहरी कार्यालयको भवन अगाडी स्वास्थ्य परीक्षण तथा परामर्श शिविर संचालन गरेर चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरुलाई विभिन्न प्रकारका रोगबाट बच्न परामर्श दिईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख, वरिष्ठ प्रहरी नायब निरीक्षक मिलनकुमार सिंहले बताउनुभएको छ ।

चालकहरुको स्वास्थ्य परीक्षणका क्रममा जाँच गराउन आएका ब्यक्तिहरुमा उच्च रक्तचाप र आँखामा समस्या देखिएको संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
लामो तथा छोटो दुरीका सवारी चालकहरुलाई समय अभावका कारण नियमित स्वास्थ्य परीक्षणमा समस्या देखिरहेको समयमा ट्राफिक प्रहरीबाट नै आयोजना गरेर गरिएको निशुल्क स्वास्थ्य शिविरले प्रत्यक्ष लाभ पुग्नुको साथ चालक, सहचालक र ट्राफिक प्रहरीबीच मैत्रीपूर्ण सम्बन्ध समेत स्थापित गर्न सहयोग पुगेको छ ।

22.66¡ÆC