त्रिशूली । प्रतिनिधिसभा तथा प्रदेससभा सदस्य निर्वाचनमा नुवाकोटका उम्मेदवारले दुई करोड ३६ लाख रुपैया खर्च गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालय नुवाकोटमा बुझाएको चुनावी खर्च विवरण अनुसार नुवाकोटबाट प्रतिनिधिसभा र प्रदेससभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवार भएका ६३ जना उम्मेदवारले बुझाएको चुनावी खर्च कुल दुई करोड ३६ लाख आठ हजार रुपैया रहेको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार प्रत्यक्षतर्फ उम्मेदवारी दिएका सबै उम्मेदवारले तोकिएको अवधिभित्रै आफूले गरेको खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाइसकेका छन् । निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको ३५ दिनभित्र चुनावी खर्च विवरण बुझाउनुपर्ने कानूनी व्यवस्थाको सबै उम्मेदवारले पालना गरेर खर्च विवरण बुझाएको निर्वाचन अधिकारी गौतमले बताउनुभएको छ । उहाँका अनुसार अधिकांश उम्मेदवारले खर्चको बिल भर्पाई, बैंकं स्टेटमेन्ट सहितको तथ्यमा आधारित खर्च विवरण दाखिला गरेको देखिएको छ ।
गत मंसिर ४ मा सम्पन्न निर्वाचन चुनावी प्रचारप्रसारको लागी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.१ को उम्मेदवारलाई ३१ लाखसम्म र क्षेत्र नं.२ को उम्मेदवारलाई २९ लाख रुपैयासम्म खर्च गर्न पाउने सीमा निर्वाचन आयोगले तोकेको थियो । यस्तै, प्रदेसतर्फ जिल्लामा रहेका चारवटै निर्वाचन क्षेत्रमा १७ लाखसम्म खर्च गर्न पाउने सीमा तोके अनुसार खर्च विवरण बुझाएका सबै उम्मेदवारले तोकिएको सीमा भित्रै रहेर खर्च गरेको विवरण निर्वाचन कार्यालयमा बुझाएका छन् ।
निर्वाचनको क्रममा नुवाकोट क्षेत्र नं. १ बाट निर्वाचित नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङको तीन लाख पाच हजार तीनसय ७० रुपैया खर्च भएको उल्लेख छ भने उहाँको प्रत्यासी नेकपा (एमाले)का उम्मेदवार बद्री मैनालीले १९ लाख ७३ हजार तीनसय रुपैया खर्च भएको विवरण पेश गर्नुभएको छ ।
यसैगरी, क्षेत्र नं.२ तर्फ निर्वाचित नेपाली काँग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले २७ लाख ६३ हजार रुपैया खर्च भएको विवरण पेश गर्नुभएको छ भने दोश्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पाटीका सुमनविक्रम पाण्डेको दश लाख ३१ हजार रुपैया र तेश्रो स्थानमा रहेको एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले १३ लाख ३५ हजार रुपैया खर्च भएको निर्वाचन कार्यालयमा बुझाएको चुनाव खर्च विवरणमा उल्लेख गरिएको छ ।
23.08¡ÆC