त्रिशूली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले ज्येष्ठनागरिक प्रतिको सम्मान नै आफ्नै सम्मानको सिकाई हुने बताउनुभएको छ ।
आफूले बाबुआमा प्रति गरिने सम्मान भोलिका दिनमा आफ्ना सन्तानले त्यही सिक्ने भएकाले बुबाआमा प्रतिको मान, सम्मान तथा उहाँहरुको चाहना पूरा गर्नु सबै नागरिकको दायित्व र जिम्मेवारी रहेको बताउनुभएको छ ।
देवीघाटमा रहेको ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको हिजो आयोजित पाचौँ साधारणसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य अजुर्ननरसिंह केसीले बुबाआमाको स्वइच्छाले घरबाट बाहिर बस्न चाहनुहुन्छ भने त रोक्नुपर्नेमा त्यहाँसम्म पठाउन तथा जान बाध्य पार्नु चाही सबैभन्दा नराम्रो पक्ष रहेको बताउनुभएको छ ।
परिवारका आफ्नै सदस्य तथा सन्तानको ब्यबहार राम्रो नभएको कारण घर छाडेर हिडेका आफ्ना बुबाआमा भगवान रुपी प्रमुख सल्लाहकार भएकाले ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको निर्माण गर्नुपर्ने अवस्था आउन नदिन समाजका सबै नागरिक एंव विशेष गरेर युवा वर्गले त्यसमा चासो दिनुपर्ने पूर्वमन्त्री समेत रहनुभएका अर्जुननरसिंह केसीले बताउनुभएको छ ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य सिता मिजारले देवीघाटमा रहेको ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा आश्रय लिदै आउनुभएका बुबाआमालाई आगामी दिनमा कसरी उहाँहरुको पालनपोषण, हेरचाह, स्वास्थ्य उपचार गर्न सकिन्छ त्यसमा राज्यका निकायदेखि जनप्रतिनिधि र सम्बन्धित सन्तती सबैको जिम्मेवारी रहेको बताउनुभएको छ ।
देवीघाट एक पवित्र तिर्थस्थल, राष्ट्रिय एकताको प्रतिक पृथ्वीनारायण शाहको देहवासन भएको ऐतिहासिक भूमि भएकाले यस स्थानमा रहेको प्रतिष्ठानको लागी आफ्नो तर्फबाट आवश्यक सहयोगको प्रतिबद्धता संघीय सांसद् सिता मिजारले जनाउनुभएको छ ।
कार्यक्रममा विदुरका नगरप्रमुख राजन श्रेष्ठ, बेलकोटगढीका नगरप्रमुख जगतबहादुर गुरुङ, उपप्रमुख शिव दाहाल, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, विदुरको ५ नं. वडाध्यक्ष लिलानाथ न्यौपाने सहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी बुद्धिजिवी लगायतले मतव्य राख्दै प्रतिष्ठानलाई सम्मानित सँस्था, ज्येष्ठ नागरिकहरुको स्वेच्छिक आश्रयस्थलको रुपमा स्थापित गराउनसक्नुपर्ने बताएका छन् ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले सँस्थागत प्रतिवेदन र कोषाध्यक्ष बिन्दा अर्यालको आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
सोही अवसरमा निर्वाचित संघीय जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो भने प्रतिष्ठान सञ्चालनको लागी सहयोग गर्ने आजिवन सदस्य, विशेष सदस्यहरु सहित सहयोगी दाताहरुलाई प्रंशंसा पत्रले सम्मान गरिएको थियो ।
प्रतिक्रिया