ऐतिहासिक ‘सामरी पौवा’को पुर्ननिर्माण सम्पन्न

पुस १२, २०७९ मा प्रकाशित | 342 views

त्रिशुली । विनासकारी भूकम्पले क्षति पुराएको नुवाकोटको म्यागङ गाँउपालिका वडा नंं ५ सामरीभञ्याङमा अवस्थित ‘सामरी पौवा’को पुर्ननिर्माण गरिएको छ । एक करोड १५ लाख रुपैयाँ लगानीमा पुरातत्व विभाग मार्फत सामरी पौवाको पुर्ननिर्माण गरिएको विभागका उपमहानिर्देशक तथा प्रवक्ता रामबहादुर कुंवरले जानकारी दिनुभएको छ ।

सामरी भञ्याङ्गमा रहेका स्थानीय बुढापाका तथा प्राप्त शिलालेख अनुसार विक्रम सम्वत १७५० को दशकमा स्थानीय कालीदास खड्कामगरले बनाएको सामरी पौवामा नेपाल एकीकरणको समयमा नुवाकोट आक्रमण गर्न आउदाँ विक्रम सम्वत १८०१ मा पृथ्वीनारायण शाह सहित उहाँको सैनिक फौज केही दिन सामरीको पौवामा नै बसेर युद्धको योजना बनाएको तथा खर्चको जोहो मिलाएको लगायतको कारण ऐतिहासिक मानिने गरिएको छ । ऐतिहासिक मानिएको सामरी पौवालाई २०७२ साल बैशाख १२ मा गएको शक्तिशाली भूकम्पले क्षति पुराएपछि समयमा नै पुर्ननिर्माण नहुदाँ खण्डहर बन्न पुगेको थियो ।

गुठीको नाममा रहेको सामरी पौवा पुरातत्व विभाग (सरकारी पक्ष)बाट पुर्ननिर्माण गर्ने कि खड्का परिवारलाई नै सुम्पने लामो समयको अध्ययन, साक्षत्कार तथा प्राप्त ईतिहासको आधारमा पुर्ननिर्माण सहित पौवाको जिम्मेवारी लिइएको नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख अजुर्नप्रसाद फुयाँलले जानकारी दिनुभएको छ । उहाँको अनुसार यसअघिको मौलिकपन कायम राखेर पहिला जस्तो थियो तेस्तै स्वरुपमा पुर्ननिर्माण गरिएको हो ।

सामरी पौवासगैँ जोडिएको पाटी लगायतका संरचनाको पुर्ननिर्माणको लागी लागत इष्टिमेट अर्थात खर्चको अनुमान तयार भएकाले आवश्यक थप संरचनाको पुर्ननिर्माण आगामी आर्थिक वर्षबाट सुरु गर्ने पुरातत्व विभागको भनाईले सामरीका स्थानीयबासी उत्साहित भएका छन् । प्राप्त ईतिहास अनुसार पाटी स्थानीय कालीदास खड्कामगरले व्यक्तिगत लगानीमा निर्माण गर्नुभएको थियो ।

गोरखाबाट यही बाटो हुदै नुवाकोट आक्रमणको लागी आउनुभएका पृथ्वीनारायण शाह सहित उहाँको सैनिक फौज यही पौवा आसपासमा केही समय बसेर युद्धको योजनाको बनाएको कालीदासका सन्तान रामेश्वर खड्काले सुनाउनुभएको छ । उहाँको अनुसार पृथ्वीनारायण शाहलाई खड्का परिवारले सामरी पौवामा बस्न सहित कागज गराएर नगद, अन्नबाली, लत्ताकपडा समेत गरेर सो समयमा चार हजार रुपैयाँ ऋण दिएको थियो ।

त्यस समयमा पृथ्वीनारायण शाहले ऋण लिएको हो भन्ने प्रमाण पेश गरेर आफ्नो पुर्खाले दिएको ऋण विक्रम सम्वत २०१५ सालमा तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहसंग फिर्ता समेत लिइएको छ । त्यस समय अर्थात २०१५ सालमा महेन्द्र राजाबाट ऋण चुक्ता गरेर आएको चार हजार पैसाबाट नै विक्रम सम्वत १९९० सालको भूकम्पले क्षति पुराएको सामरी पौवाको खड्का परिवार मार्फत नै मर्मतसम्भार तथा प्रवलीकरण गरेर केही पैसा समेत बच्न पुगेको स्थानीय समाजसेवी तथा राजनीतिक रामेश्वर खड्काले बताउनुभयो ।

सामरी पौवाको पुर्ननिर्माण भएपछि उत्साहित भएका स्थानीयबासीहरु नया बनेको पौवालाई यसअघि जेजस्तो रुपमा प्रयोग भएको भएपनि अब भने समुदायको हितको लागी उपयोगमा ल्याउने योजना बनाएकाछन् ।

सामरीभञ्याङ्गको मध्येविन्दुमा पुर्ननिर्माण गरिएको सामरी पौवा खड्का परिवारको मात्र नभई सबै सामुदायको साझा सम्पत्तिको रुपमा उपभोगमा ल्याउनको लागी गाँउम आइपर्ने सुख–दुःखको समयमा भेलाजमघट हुन, दशै पर्वको समयमा कालरात्रीको लागी सामूहिक जमरा राख्ने लगायतको योजना बनाएको समाजसेवी रामेश्वर खड्काले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web