त्रिशुली । नुवाकोट र रसुवाको संगमस्थल वेत्रावतीको उत्तरगयामा पौष कृष्ण औंशीको अबशरमा दिवंगत व्यक्तिको नाममा पितृ तर्पण अर्थात श्राद्ध गरिएको छ ।
धार्मिक एवं पवित्र त्रिशूली नदी तथा सलाखु र फलाँखु खोलाको त्रिवेणीस्थल बेत्रावती उत्तरगया धाममा दिवंगत पितृहरूको चीरशान्तिको कामना गर्दै हिजो पौष कृष्ण औंशीको दिन हिजो शुक्रबार ‘जौ’को पिण्ड दिएर विभिन्न स्थानमा रहेका हिन्दु र बौद्ध धर्मालम्बीहरुले पितृ तर्पण अर्थात श्राद्ध गरेको हो ।
पौषे औंसीको दिन हिजो शुक्रबार पाचहजार भन्दाबढी श्रद्धालुहरुले पितृको स्मरणमा श्राद्ध तथा पितृ तर्पण गरेको उत्तरगया क्षेत्र विकास कोषले जनाएको छ । हिन्दु धर्मालम्बीहरुको मुख्य चारधाम मध्ये नेपालमा रहेको एकमात्र उत्तरगया धाममा पिण्ड तर्पण गर्नाले दिवंगत व्यक्तिको आत्माले मोक्ष पाउने जनविश्वास रहेको श्राद्धमा सहभागी पण्डित, पुजारी र श्रद्धालुहरुले बताएका छन् ।
हिन्दु धर्मालम्बीहरुको पुराण अनुसार कालकूट विष पिएपछि त्यसको राप शान्त पार्न भौतारिएर रसुवाको गोसाईकुण्ड पुग्नुभएका श्री महादेवले त्रिशूल प्रहार गर्दा उत्पन्न भएको त्रिशूली नदी र श्री महादेवले नै बेतको लौरी खोप्दा उत्पत्ति भएको बेत्रगंगा अर्थात फलाँखु खोलाको संगमस्थल समेत भएकोले पवित्र भूमिको रूपमा वेत्रावती उत्तरगयाधाम हिन्दु र बौद्धमागीहरुको लागी संसारभर नै परिचित रहेको छ ।
लगातार अघिल्लो दुई वर्ष कोरोना रोगको जोखिमको कारण श्रद्धा गर्न आउनको लागी प्रभावित भएकोमा यो वर्ष पाच हजार भन्दा बढी श्रद्धालुहरुको सहभागिता रहेको थियो । पितृ तर्पको लागी देशको पूर्व १ नं प्रदेसदेखि पश्चिमा पर्ने सुदूरपश्चिम प्रदेसबाट समेत तिर्थालु भक्तजनको सहभागिता रहेको थियो ।

हिन्दुधर्मालम्बीहरुको चारधाम मध्ये भारतमा रहेको तीन धामको दर्शन गरेपनि मुख्य शीरको रुपमा रहेको र नेपालको एकमात्र धाम सबैभन्दा पवित्र र मुख्य धामको रुपमा समेत पुज्ने गरिएकाले पछिल्लो समयमा भक्तजनहरुको सहभागिता बृद्धि हुदै गएको हो ।
भारतमा रहेका तीनधामको दर्शन गरेपनि नेपालमा रहेको उत्तरगया धाममा दर्शन नगर्दा पूर्ण नहुने समेत धार्मिक विश्वास भएकाले भारतको तीनधाममा पुगेका भक्तजनहरु नुवाकोट र रसुवामा पर्ने उत्तरगया धाममा आउने गरेका छन् ।
सौर्यमास अनुसार माघे सङ्क्रान्तिदेखि र चान्द्रमासअनुसार माघ कृष्ण प्रतिपदादेखि उत्तरायण शुरु हुने गरेको छ । उत्तरायण शुरु हुनुअघिको औँसी अर्थात् पौष कृष्ण औँसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा रहेको छ । वैदिक सनातन धर्मावलम्बीले सके प्रत्येक वर्षमा नसके जीवनकालमा कम्तीमा एकपटक तीर्थमा गएर श्राद्ध गर्नुपर्ने शास्त्रीय नियम भएकाले हिजो पौष कृष्ण औंशीको अवसरमा वेत्रावती उत्तरगया सहित विभिन्न तिर्थहरुमा गएर श्राद्ध गर्ने श्रद्धालुहरुको निकै भीड लागेको थियो ।
त्रिशूली नदी तथा सलाँखु र फलाँखु खोलाको त्रिबेणीमा पर्ने उत्तरगया क्षेत्र नुवाकोटको गेर्खु, फिकुरी, मेदाङ–भञ्याङ्ग, देवीघाट, र रसुवाको मैलुङसम्म फैलिएको उत्तरगया क्षेत्र विकास कोषले जनाएको छ ।
पौष कृष्ण औंशीको अवसरमा नुवाकोट र रसुवाको सङ्गमस्थित वेत्रावती सहित राजधानीको गोकर्ण उत्तरगया, त्रिवेणीधाम, देवघाट, रिडी लगायतका तीर्थस्थलमा विधिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लागेको हो । गया–लगायत तीर्थमा गरिने श्राद्ध भएकाले यस तिथीमा गरिने श्राद्धलाई गया श्राद्ध पनि भन्ने गरिएको छ ।
पौष कृष्ण औंशी तिथीमा गरिने श्राद्धलाई दक्षिणायनको अन्तिम बिदाइको श्राद्धको रुपमा समेत लिने गरिएको छ । दर्श–श्राद्ध अर्थात् घरतिरका तीनपुस्ता र मामाघर तिरका तीन पुस्तालाई पिण्ड दिएर गरिने श्राद्ध शास्त्रीयरुपमा गर्नुपर्ने दिन पौषे कृष्ण औँसीमा उत्तम हुने पण्डितहरुले बताएका छन् । तर, हिन्दुधर्म शास्त्रले सोह्रश्राद्धमै गरेपनि पितृहरुको चित्त बुझ्ने भनिएको छ ।

21.05¡ÆC