त्रिशुली । सामुदायिक आँखा केन्द्र नुवाकोटले शल्यक्रिया गरेर एकसय ६० जना मोतियाबिन्दु भएका बिरामीको दृष्टि फर्काएको छ ।
तिलगङ्गा आँखा प्रतिष्ठानसँगको सहकार्यमा मोतियाबिन्दु भएका बिरामीको शल्यक्रियापश्चात् पुनः दृष्टि फर्काउन सफल भएको सामुदायिक आँखा केन्द्र नुवाकोटका प्रमुख ताराबहादुर वाइवाले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार जिल्लाको विभिन्न २३ स्थानमा गरेको निःशुल्क आँखा परीक्षण शिविर र केन्द्रमा जाँच गराउन आएका बिरामीबाट पहिचान भएकामध्ये एकसय ६० जना बिरामीको मोतियाबिन्दु भएका बिरामीको दृष्टि फर्काइएको हो ।
तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा होमबहादुर गुरुङसहित सातजना नेत्र चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले तीन दिनसम्म गरेको शल्यक्रिया मार्फत ती बिरामीको आँखामा पुनः दृष्टि फर्काउन सफलता मिलेको जनाएको हो ।
नुवाकोटको स्थानीयस्तरमा स्वास्थ्यप्रतिको सजगता वृद्धि हुँदै गए पनि नुवाकोटमा भने आँखाको हेरचाहमा चेतनाकोस्तर अझै धेरै बढाउन आवश्यक देखिएको वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.होमबहादुर गुरुङले सुझाव दिनुभएको छ ।
उहाँको अनुसार शिक्षित वर्गदेखि युवा र बालबालिकामा नै मोतियाबिन्दु भएर अन्तिम अवस्थामा पुगेको पाइएको छ । नुवाकोटमा हरेक वर्ष आँखा परीक्षण सेवा पुर्याउँदै आएकाले यो पटक गरिएको शिविरमा करीब एकसय जना मोतियाबिन्दु भएका बिरामीको शल्यक्रिया गर्ने लक्ष्य बनाएपनि त्यो भन्दा धेरै बढी अर्थात १६० जनाको शल्यक्रिया गरिएको र अझै केही बिरामीहरु बाँकी रहेकाले उनीहरुको लागी आगामी दिनमा थप शिविर सञ्चालन गरिने वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. होमबहादुर गुरुङले बताउनुभएको छ ।
उहाँको अनुसार शल्यक्रिया गरेका दृष्टी फर्काइएको बिरामीहरुको चिकित्सकबाट आधा उपचार मात्रै भएकाले अब आगामी दिनमा सम्बन्धित बिरामीले नियमित रुपमा सरसफाईमा ख्याल गरेर सुरक्षित बनाइराख्नुपर्ने सुझाब रहेको छ ।

20.27¡ÆC