अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रूपमा मनाइने

पुस १, २०७९ मा प्रकाशित | 302 views

काठमाडौँ । सरकारले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रूपमा मनाउने भएको छ । ‘वैदेशिक रोजगारीबाट प्राप्त सीप, पुँजी र ज्ञान : उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मूल नारासहित दिवस १६ डिसेम्बरदेखि २२ डिसेम्बरसम्म सप्ताहव्यापी रूपमा मनाउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

आप्रवासी श्रमिकको हित र अधिकारको रक्षाको साथै उनीहरूमाथि हुन सक्ने विभेदलाई ध्यानमा राखि संयुक्त राष्ट्र सङ्घले डिसेम्बर १८ का दिन आप्रवासी श्रमिक र तिनका परिवारकाे सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि १९९० पारित गरेको थियो । यो सन्धि सन् २००३ जुलाई १ देखि लागू भएको छ ।

संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २००० डिसेम्बर ४ मा पारित गरेको प्रस्ताव नम्बर ५५ र ९३ लाई पारित गर्दै संसारभर ठूलो सङ्ख्यामा रहेका आप्रवासीको सरोकारको दस्तावेज पारित भएको दिन १८ डिसेम्बरलाई अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको रूपमा मनाउने गरिएको छ ।

नेपालमा पनि यो दिवस सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक समाज, आप्रवासी श्रमिक तथा उनीहरूका परिवारलगायत सम्बद्ध पक्षहरूको संयुक्त पहलमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम आयोजना गरि मनाउँदै आइएको छ ।

दिवसलाई प्रदेश र पालिकास्तरसम्म पुर्‍याउन प्रदेश सरकार तथा स्थानीय पालिकाको अगुवाइमा जिल्लामा रहेका विभिन्न सरकारी निकाय, वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत विभिन्न सङ्घ–संस्था, राजनीतिक दल, नागरिक समाज, गैरसरकारी एवम् निजी सङ्घ–संस्था, ट्रेड युनियन, आप्रवासी श्रमिक तथा उनीहरूका परिवारसमेतको सक्रिय सहभागितामा मनाइने श्रम मन्त्रालयले जनाएको छ ।

देशभर कार्यक्रम मूल समारोह समितिबाट स्वीकृत भएका विविध कार्यक्रम १६ डिसेम्बर अर्थात् भोलिदेखि २२ डिसेम्बर अर्थात् पुस ७ गतेसम्म आयोजना हुनेछन् । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले सन् २०२२ मा प्रकाशित गरेको माइग्रेसन रिपोर्ट अनुसार संसारभरि २८ करोड ५९ लाख मानिस आप्रवासी श्रमिकको रूपमा रहेका छन् ।

नेपालको कुल गार्हस्थ्य उत्पादनमा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण (रेमिट्यान्स) को योगदान औसत झन्डै २५ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०६५/६६ देखि २०७८/७९ सम्म ५० लाख आठ सय ३३ जना वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

वैदेशिक रोजगार बोर्डको अनुसार बोर्डको स्थापनादेखि आर्थिक वर्ष २०७८/७९ सम्म वैदेशिक रोजगारीका क्रममा १० हजार नाै सय ३२ जनाको रोजगारीकै क्रममा ज्यान गएको छ भने दुई हजार एक सय २५ जना गम्भीर बिरामी तथा अङ्गभङ्ग भएर स्वदेश फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web