रसुवा । दुर्घटना न्यूनीकरण गर्न रसुवामा ट्राफिक प्रहरीले सबैखाले सवारी साधनको यान्त्रिक परीक्षण सुरूआत गरेको छ ।
बिग्रिएपछि मात्र मर्मत गराउने बानीको अन्त्य गराई सवारी साधन गुडाउनुपूर्व परीक्षण गराउने जागरण ल्याउन ट्राफिक प्रहरी रसुवाले पहिलो पटक यान्त्रिक परीक्षण थालेको हो । साताव्यापी रूपमा गरिने परीक्षणलाई धुञ्चेमा रहेका वर्कशपहरुले निःशुल्क सहयोग गरिरहेको ट्राफिक प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
रसुवा ट्राफिक प्रमुख उज्वलकुमार घलेका अनुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनको निर्देशनमा पासाडल्हामु मार्गमा चल्ने सबैखाले सवारी साधनको यान्त्रिक परीक्षण थालिएको हो ।
यही मङ्सिर २५ गतेबाट सुरू भएको यान्त्रिक परीक्षण अन्तर्गत दुई दिनमा आधा दर्जन मोटरसाइकलमा भने खराबी भेट्टिएको र पूर्ण रूपको मर्मत गरेर मात्र सञ्चालन गराउन सुझाव दिइएको छ । सवारी नियम उल्लङ्घन गर्ने सयौँ सवारीधनी कारबाहीमा परिसकेको ट्राफिक प्रमुख घलेले जानकारी दिनुभएको छ ।
चीनसँगको कारोबार गर्ने नेपालको उत्तरी रसुवागढी अन्तर्राष्ट्रिय नाका समेत भएका कारण यहाँ माल सामग्री लिन आउने अधिकांश सवारी साधनले यातायात कार्यालयबाट प्रदान गर्ने सडक अनुमतिपत्र नल्याउने, बिलबुक तथा सवारी चलाउने अनुमतिपत्र लगायतका आवश्यक कागजात नबोक्ने, ट्राफिक नियम पालना नगर्ने समेत समस्या रहेको बताइएको छ ।
19.55¡ÆC