धान्य पूर्णिमाको अवसरमा दुप्चेश्वर महादेव मन्दिरमा लागेको मेला सक्कियो

मंसिर २३, २०७९ मा प्रकाशित | 417 views

त्रिशुली । दोश्रो पशुपतीनाथको रुपमा परिचित नुवाकोटको दुप्चेश्वर गाँउपालिका वडा नं. ६ राउतवेशीमा रहेको दुप्चेश्वर महादेव मन्दिरमा एकादशीबाट सुरु भएको मेला उत्साहको साथ हिजो बिहीबार समापन गरिएको छ ।

दुप्चेश्वर महादेवको मन्दिरमा लाग्ने मेलाको मुख्य दिन हिजो बिहीबार धान्य पूर्णिमाको अवशरमा बिहानैदेखि सुरु भएको दर्शन गर्ने भक्तजनहरुको घुइचो साँझसम्म पनि कायमै रहेको थियो ।

दुप्चेश्वर भगवान मन्दिरको पूजारी भगवानहरी धितालका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष तिर्थालुको सङ्ख्या केही बढेको छ । अघिल्ला वर्ष कोरोना रोगको जोखिमको कारण प्रभावित भएको थियो भने यसअघि रोकिएका भाकल पूरा गर्न आउने तथा तिर्थयात्री आउनको लागी सहज भएसगैँ अघिल्ला वर्षको भन्दा यो वर्ष भक्तजनको सङ्ख्या बढेको हो । पूर्णिमाको पूजा, ब्रत र जप तथा तपस्या गर्न हिजो एकैदिन करीब पाच हजारले भगवानको दर्शन गरेका छन् ।

हिजो बिहीबार मध्यान्हमा भगवान शिव महादेवको रुपमा रहनुभएका पशुपतिनाथ मन्दिरमा पूजा गरी जल चढाउनाले भक्तीभाव तथा मनोकामना पूरा धार्मिक विश्वास समेत रहेको छ । चारसय वर्ष भन्दा अघि विक्रम सम्वत १७६८ सालतिर राउतवेशीका स्थानीयबासी बासु तामाङको गाई नदी किनार छेउको भीरमा पुगेर बच्चा जन्माई भगवानलाई दूध चढाई बसेको स्थानलाई भक्तजनहरुले दुप्चेश्वर महादेवथान स्थापनाको रुपमा धान्य पूर्णिमा लगायतको तिथीहरुमा पुज्ने गरिएको छ ।

गाईले दुध चढाई बसेकाले सुरुमा दुधेश्वर महादेवको स्थान समेत भनिने गरेको र पछिल्लो समयमा अपभ्रम्स हुदै अहिले विश्वभरका हिन्दु र बौद्ध धर्मालम्विहरुको लागी दुप्चेश्वर महादेबको नामबाट प्रख्यात रहेको छ ।

‘जे माग्यो त्यही नै सिद्ध गराउने’ भगवानको रुपमा पुजिने दुप्चेश्वर महादेवबाट मुख्यतः सन्तान र त्यसमा पनि पुत्रलाभ गराउने, बोली नफुटेका बालबालिकालाई बोल्न सक्ने बनाउने, नब्याएका गाईभैसीको दाम्लो चढाएमा भ्याउने हुने लगायतका बर माग्ने र त्यो पूरा भएको भन्दै भक्तजनहरु पुनः पूजा दोहो¥याउन समेत दुप्चेश्वर भगवानको स्थानमा दर्शन गर्न पुग्ने गरेका छन् । दर्शन गर्न पुग्नेहरुले बोलि नफुटेको बालबच्चाको बोल्न सक्ने भएको देखि आफूले मागे अनुसारको असल श्रीमति पाएर भगवानको स्थानमा दर्शन गर्न आएको बताएका छन् ।

समुन्द्रमन्थन गर्दा निक्लिएको कालकुट विष सेबनबाट छट्पटिनुभएका महादेव शिव पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा बाँस बसेर रसुवाको गोसाईकुण्ड गएको किम्वदन्ती समेत रहदै आएको छ ।
दुप्चेश्वर मेलाको चिनोको रुपमा बास र निगालोबाट बनेको थुन्से, नाङ्लो, भकारी, चल्नु र धुपी ल्याउने चलन भएपनि यो वर्ष बेच्नेको सङ्ख्या क्रमशः घट्ने क्रममा यो वर्ष पनि निकै कम सङ्ख्यामा देखिएको थियो ।

हिन्दु र बौद्ध धर्मालम्वीको साँझा आस्थाको केन्द्र रहेको दुप्चेश्वर महादेवको दर्शन गर्न नुवाकोट, रसुवा, धादिङ, काठमाडौ लगायतका जिल्लाबाट यसवर्ष करीब दश हजार दर्शनार्थीले मेलाको दर्शन गरेको अनुमान गरिएको “दुप्चेश्वर क्षेत्र विकास कोष”ले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web