दुप्चेश्वर महादेवको मन्दिरमा लाग्ने मेलाको रौनक जारी

मंसिर २२, २०७९ मा प्रकाशित | 718 views

त्रिशुली । ऐतिहासिक धार्मिक महत्व बोकेको दुप्चेश्वर महादेवको मन्दिरमा धान्य पूर्णिमाको अवसरमा लाग्ने मेलाको रौनक जारी रहेको छ । दुप्चेश्वर महादेवको मन्दिरमा लाग्ने मेलाको मुख्य दिन आज बिहीबार पूर्णिमा परेकाले हिजो बुधबार र गएरातभर भगवानको दर्शन गर्नेहरुको चहलपहल निकै बढेको हो । यो चहल चहलपहल आज बिहीबार दिनभर नै कायम रहने गरेको छ ।

एकादशीको दिन मंसिर १७ गतेदेखि सुरु भएको दर्शन गर्ने भक्तजनहरुको घुइचो यसअघिका दिनहरुमा भन्दा हिजो बुधाबार निकै बढी रहेको मन्दिरका पूजारी भगवानहरी धितालले जानकारी दिनुभएको छ । दोश्रो पशुपतीनाथको रुपमा परिचित नुवाकोटको दुप्चेश्वर गाँउपालिका वडा नं. ६ मा अबस्थित दुप्चेश्वर महादेव मन्दिरमा एकादशीबाट सुरु भएको मेला मुख्य गरेर हिजो बुधाबार चतुदर्शीको रात र आज बिहीबार पूर्णिमाको दिन निकै उमङ्ग र रौनक छाउने गरेको छ ।

एकादशीदेखि सुरु भएको जात्रामा यो वर्ष १५ हजार भक्तजन भित्र्याउने लक्ष्य आयोजकले लिएको भएपनि अहिलेसम्म करीब दश हजारले दर्शन गरेको अनुमान गरिएको छ । अझै सयौको सङ्ख्यामा भक्तजनहरु सहभागि हुनेक्रम जारी रहेको दुप्चेश्वर गाँउपालिकाको अध्यक्ष शंकर थापाले जानकारी दिनुभएको छ ।

गाँउपालिकाले स्थापना गरेको “दुप्चेश्वर क्षेत्र विकास कोष” मार्फत जात्रा व्यवस्थापनको लागी क्रियाशिलता देखाएपनि व्यवस्थापन पक्षमा अघिल्ला वर्षहरुको जस्तै समस्या यो पटक पनि दोहोरिएको छ । धान्य पूर्णिमाको दिन गरिने पूजाले पूर्णिमाको शुभारम्भको तिथीलाई समेत समेट्ने भएकाले मध्यान्हमा भगवान शिव महादेवको रुपमा रहेको दुप्चेश्वर मन्दिरमा पूजा गरी जल चढाउनाले भक्तीभाव तथा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको तिर्थस्थल पुगेका दर्शनार्थीहरुले बताएका छन् ।

राउतवेशीका स्थानीय बासु तामाङको गाई नदी किनार छेउको भिरमा पुगेर बच्चा जन्माएर भगवानलाई दूध चढाई बसेको स्थानलाई भक्तजनले दुप्चेश्वर महादेव÷भगवानको स्थापनाको रुपमा पछिल्लो साढे दुईसय वर्षदेखि नै पुज्दै आएको किवदन्ती रहेको छ । भक्तजनले मनोकामना पूरा गर्न अघिल्ला लगातार दुई वर्ष कोरोना रोगको सक्रमणजोखिमको कारण प्रभावित भएकोमा यो वर्ष भने किसानको अहिलेको फुसर्दको समय, मौसमले दिएको साथ, अन्नशुक्र सम्पन्न पछिको समय समेत भएकाले अघिल्ला वर्षहरुको भन्दा यो वर्ष नुवाकोट र सुवाको तिर्थालुको आवागमन धेरै देखिएको हो ।

‘जे माग्यो त्यही सिद्ध गराउने’ भगवानको रुपमा पुजिने दुप्चेश्वर महादेवले सन्तान मध्ये पनि पुत्रलाभ गराउने र नब्याएका गाईभैसीको दाम्लो चढाएमा ब्याउने भाकल गर्न र पूरा भएको भाकलको पूजा गर्न भक्तजनहरु मन्दिरमा पूजा दोहो¥याउन जाने भएकाले एक पटक पुगेका भक्तजनहरु पुनः अर्को वर्ष जाने भएकाले हरेक वर्ष भक्तजनहरुको सङ्ख्यामा बृद्धि हुदै गएको मन्दिरका पण्डित भगवानहरी धितालले बताउनुभएको छ ।

समुन्द्र मन्थन गर्दा निक्लिएको विष सेबनपछि छट्पटिनुभएका श्रीमहादेव शिव पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा बास बसेर गोसाईकुण्ड गएको किम्वदन्ती समेत रहदै आएको छ ।

मेलाको विशेष रौनक धान्य पूर्णिमाको दिन आज बिहीबार दिनभर हुने भएपनि एकादशी देखि नै सुरु भएको मेलाको चौथो दिन हिजो बुधबारसम्ममा भक्तजनको सहभागिता अघिल्लो वर्षको सरह पाइएको छ । धान्य पूर्णिमा पर्वको अवसरमा आज बिहीबार सार्वजनिक बिदा समेत भएकाले आज एकै दिन करीब पाच हजार भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ ।

मन्दिरमा दर्शन गर्न पुगेका भक्तजनलाई “दुप्चेश्वर क्षेत्र विकास कोष” मार्फत यातायात सेवा सञ्चालन गरी सहजता, स्वास्थ्य शिविर, मनोरञ्जनका सामाग्रि, मन्दिरको दर्शन गर्न भीड नबनाइ छिट्टो र छरितो बनाउदै जात्रालाई उत्साहपूर्ण बनाउन प्रयास गरिएको भएपनि अघिल्ला वर्षहरुमा देखिएका अव्यवस्थित समस्याहरु सुधार नहुदाँ यो वर्ष पनि कायमै रहेको छ ।

यसअघि मन्दिर रहेको वडाका वडाध्यक्ष “दुप्चेश्वर क्षेत्र विकास कोष”को संयोजक हुने र गाँउपालिकाको प्रमुख र उपप्रमुख संरक्षक हुने कानूनी व्यवस्था स्थानीय राजपत्रमा उल्लेख गरिएको भएपनि यो पटक राजनीतिक पूर्वाग्रही र कार्यपालिकामा बहुमत रहेको आडामा वडाअध्यक्षको अधिकार खोसेर गाँउपालिकाको अध्यक्ष र उपाध्यक्ष आफै “दुप्चेश्वर क्षेत्र विकास कोष”को संयोजक र सहसंयोजक बनेका छन् ।
दुप्चेश्वर महादेवको नामबाट दुप्चेश्वर गाँउपालिकाको नामाकरण गरेर भगवानको महिमालाई उच्च बनाइएको भएपनि मन्दिरको संरक्षण, जात्रा व्यवस्थापन, दर्शनार्थीको लागी सहजता लगायतमा भने गाँउपालिका हरेक वर्ष असफल बन्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web