पर्यटकलाई गुणस्तरीय सेवा दिन रसुवाका पर्यटन व्यवसायीकोे सामूहिक प्रतिबद्धत

रसुवा । हिमाली क्षेत्रको अवलोकन गर्ने आन्तरिक एवं बाह्य पर्यटकलाई गुणस्तरीय सेवा दिन रसुवाका पर्यटन व्यवसायीले सामूहिक प्रतिबद्धता जनाएका छन् ।

होटल तथा पर्यटन व्यवसायी संघको तेस्रो जिल्ला अधिवेशनका क्रममा रसुवाका पर्यटन व्यवसायीले पर्यटकीय होटललाई व्यवस्थित एवं मर्यादितरूपले सञ्चालनमा ल्याई आगन्तुक पाहुनालाई गुणस्तरीय सेवामा एकरूपता ल्याउने प्रतिबद्धता जनाएका छन् ।

अहिलेको जाडोको याममा हिमपातसमेत हुने भएकाले होटलमा सिरकको सङ्ख्या बढाउने, कोठामा हिटरको व्यवस्थापन गर्ने, खानाखाने स्थानमा सुधारिएको चुलोमार्फत तातोको व्यवस्था मिलाउने लगायतका कार्यसमेत अगाडि बढाउने रसुवाका पर्यटन व्यवसायीले बताएका छन् । कोठामा तातोपानीको व्यवस्थापन गर्नेे तथा स्थानीय उत्पादन भएको सागसब्जीको मात्र तरकारी खुवाउनेजस्ता विविध सेवामूलक विषयमा छलफल एवं सहमति भएको संघले जनाएको छ ।

संघको तेस्रो जिल्ला अधिवेशनले रामशरण गजुरेलको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन समेत गरेको छ । कार्यसमितिको उपाध्यक्षमा धनकुमारी तामाङ, सचिवमा फुर्पुसिङ्गी तामाङ, सहसचिवमा विशाल घले, कोषाध्यक्षमा बुद्वलक्ष्मी तामाङ निर्विरोध चयन हुनुभएको छ ।

सदस्यमा छविलाल पौडेल (राम), सन्तोष तामाङ र सुनिता तामाङ, सञ्जीव उप्रेती, पवित्रा भट्ट र छेतेन ग्याल्पो तामाङ रहनुभएको छ ।

सबै होटल तथा लज आन्तरिक राजस्व कार्यालयमा दर्ता गराइ स्थायी लेखा नम्वर लिने, सरकारी दस्तुर समयमै बुझाउने, समयसाक्षेप होटल तथा लजको सुदृढीकरण गराउने, व्यवसायीको हितमा आवाज उठाउने र पाहुनालाई गुणस्तरीय सेवाप्रवाहको विषयमा अनुगमन गर्ने जनाइएको छ ।

होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष रामशरण गजुरेलले नयाँ कार्यसमितिले धुञ्चे, ठूलोस्याफ्रु, चन्दनबारी, लौरीविनायक, गोसाइँकुण्ड हुँदै हेलम्बु रूट, स्याफ्रुबेँसीबाट लाङ्टाङ क्याञ्जेन क्षेत्र र तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङ, नाकथली, थुमन तथा बृद्विम होमस्टे समेतका क्षेत्रका होटललाई व्यवस्थित गर्दै पर्यटकलाई गुणस्तरीय सेवा पुर्‍याउन केन्द्रित रहने बताउनुभएको छ ।

प्रतिक्रिया

TOP