१० अर्ब ३८ करोड रुपैयाँको बिजुली भारत निर्यात

मंसिर ३, २०७९ मा प्रकाशित | 232 views

काठमाडौँ । यस वर्षको पहिलो साढे पाँच महिनामा १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँको बिजुली भारत निर्यात भएको छ । देशभित्र खपत गरी बाँकी भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट बिजुली नेपाल विद्युत प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरी १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँ कमाएकाे छ ।

प्रााधिकरणले देशभित्र खपत गरी बाँकी भएको वर्षायामको बिजुली गएकाे जेठ १९ गतेदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकोले यस अवधिमा बिजुली बिक्रीबाट ६ अर्ब ४९ करोड ३५ लाख भारु नेपाल भित्रिएको छ । यसबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई देशबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ ।

सुरुमा दुई वटा विद्युत् गृहको ३९ मेगावाट उत्पादित बिजुलीलाई स्रोत मानी दैनिकरूपमा आईएक्समा बिक्री गरिएको थियो । त्यसपछि जेठ २७ गतेदेखि दैनिकरूपमा छ वटा जलविद्युत् गृहबाट उत्पादित बिजुलीलाई स्रोत मानी दैनिकरूपमा तीन सय ६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै थियो । गएकाे कात्तिक १८ र ३० गतेदेखि क्रमशः चिलिमे र सोलुखोलाको बिजुली निर्यात सुरु भएसँगै भारततर्फ निर्यात हुने बिजुलीकाे स्वीकृति क्षमता चार सय नाै मेगावाट पुगेको छ ।

खोलानालामा पानीको बहाब घट्दै गएकोले नदी प्रवाहमा आधारित जलविद्युत् केन्द्रहरूबाट बिजुली उत्पादन कम भएसँगै निर्यातको परिमाण पनि क्रमशः घट्दै गएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । ‘उद्योगहरूले अहिले स्वीकृति लोडअनुसार बिजुली नै लिएका छैनन्, यसले गर्दा देशभित्र औद्योगिक काेरिडोरमा बिजुलीकाे माग बढ्न सकिरहेको छैन, अहिलेकै अवस्थामा आन्तरिक खपत धानेर बढी भएको बिजुली आउँदाे पुसको पहिलो हप्तासम्म निर्यात गर्न सक्ने अनुमान गरिएको छ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा बिजुलीको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ । प्राधिकरणले कात्तिकसम्ममा निर्यात गरेको बिजुलीकाे औसत दर प्रतियुनिट आठ रुपैयाँ २३ पैसा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web