राजनीतिक दल तथा उम्मेदवारले अनलाइनमा विज्ञापन प्रसारण गर्न पाउने

कार्तिक २५, २०७९ मा प्रकाशित | 570 views

राजनीतिक दल तथा उम्मेदवारले अनलाइनमा विज्ञापन प्रसारण गर्न पाउने

काठमाडौँ । निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि राजनीतिक दल तथा उम्मेदवारले अनलाइनमा विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने जनाएकाे छ ।

निर्वाचन आचारसंहिता, २०७९ को अधीनमा रही राजनीतिक दल तथा उम्मेदवारले सूचना तथा प्रसारण विभागमा दर्ता भइ प्रेस काउन्सिल नेपालमा सूचीकृत भएका अनलाइन सञ्चारमाध्यमबाट प्रचार–प्रसार गर्न पाउने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो।

राजनीतिक दल वा उम्मेदवारले चुनाव प्रचार–प्रसारसम्बन्धी बढीमा एक मिनेटसम्मको श्रव्यदृश्य सामग्री अनलाइन सञ्चारमाध्यमबाट प्रसारण गराउन सक्ने व्यवस्था रहेको छ । त्यस्तै, राजनीतिक दलले निजी क्षेत्रको अनलाइन सञ्चारमाध्यमबाट रोडब्लक, कन्टेन ब्लक, होमपेज, ब्यानर, डिटेल पेज ब्यानर, बक्स विज्ञापन (समाचारको बीचमा)को माध्यमबाट चुनाव प्रचार–प्रसार गराउन सक्ने निर्णय गरेको छ । चुनावी प्रचार–प्रसार सामग्रीमा सःशुल्क विज्ञापन भएको जनाउ दिनुपर्ने रहेको छ ।

अनलाइन सञ्चारमाध्यमबाट गरिने चुनाव प्रचार–प्रसार सामग्रीमा कसैप्रति गालीगलौज, मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति समावेश हुन नहुने र त्यस्तो विषय समावेश भएमा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको मानिने छ ।

राजनीतिक दल वा उम्मेदवारले अनलाइन सञ्चारमाध्यमबाट चुनावकाे प्रचार–प्रसार गर्दा लागेको खर्चको विवरण प्रचलित कानुनबमोजिम पेस गर्नुपर्ने चुनाव खर्चको विवरणमा समावेश गरी पेस गर्नुपर्ने रहेको छ । राजनीतिक दल वा उम्मेदवारले टेलिभिजन, रेडियो वा एफएम रेडियो तथा पत्रपत्रिकाको माध्यमबाट चुनाव प्रचार–प्रसार गर्न सक्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web