प्रशंसकले १० वर्षपछि सेमिफाइनलमा भारत र इङ्ल्यान्डको खेल हेर्दै

कार्तिक २४, २०७९ मा प्रकाशित | 278 views

काठमाडौँ । टी–२० विश्व कप क्रिकेटको सेमिफाइनलमा १० वर्षपछि प्रशंसकहरूले भारत र इङ्ल्यान्डको खेल हेर्न पाउने भएका छन् । अस्ट्रेलियाको एडिलेड ओभलमा खेल दिउँसो पौने दुई बजे सुरु हुँदैछ । यो टी–२० क्रिकेटमा शीर्ष वरीयताका दुई टोलीबीचको खेल हो ।

एडिलेड दर्शकबाट भरिभराउ हुनेछ । अन्तिम पटक यी दुई टोलीले सन् २०१२ मा खेलेका थिए । त्यो बेला भारतले सहज जित निकालेको थियो । भारत र इङ्ल्यान्डबीच अहिलेसम्म २२ वटा टी–२० खेल भएकोमा भारतले १२ वटा र इङ्ल्यान्डले १० वटा खेल जितेका छन् । विश्व कपकै कुरा गर्दा यी दुई देशबीच ३ वटा खेल भएकोमा भारतले २ वटा र इङ्ल्यान्डले एउटा खेल जितेको छ । सन् २००७ र २०१२ को विश्व कपमा भारत र २००९ मा इङ्ल्यान्ड विजयी भएको थियो ।

भारत र इङ्ल्यान्डबीच भएका पछिल्ला पाँच वटा खेलमा भारतले तीन वटा खेल जितेको छ । अहिलेसम्म भारत र इङ्ल्यान्डले एक/एक पटक टी–२० विश्व कपको उपाधि जितेका छन् । भारतले सन् २००७ को विश्व कप र इङ्ल्यान्डले सन् २०१० को विश्व कप जितेका थिए ।

यस्तै सन् २०१४ को फाइनलमा भारत श्रीलङ्कासँग पराजित भएको थियो भने सन् २०१६ को फाइनलमा इङ्ल्यान्ड वेस्ट इन्डिजसँग पराजित भएको थियो । अस्ट्रेलियामा चलिरहेको विश्व कप क्रिकेटमा भारत सुपर–१२ समूह ‘२’ को विजेता र इङ्ल्यान्ड समूह ‘१’ को उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । भारतले पाकिस्तान, नेदरल्यान्ड्स, बङ्लादेश र जिम्बाब्वेलाई हराएको थियो भने दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।

यस्तै इङ्ल्यान्डले अफगानिस्तान, न्युजिल्यान्ड र श्रीलङ्कालाई हराएको थियो । इङ्ल्यान्ड आयरल्यान्डसँग पराजित भएको थियो भने अस्ट्रेलियासँगको खेल वर्षाले प्रभावित भएको थियो । आजको विजेताले उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको हो । फाइनल खेल आउँदाे आइतवार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web