इन्द्रजात्राको मुख्य दिन आज, कुमारी रथयात्रा हुँदै

भदौ २४, २०७९ मा प्रकाशित | 381 views

काठमाडौँ । काठमाण्डौको वसन्तपुर दरबार क्षेत्रमा इन्द्रध्वजा ठड्याएसँगै सुरु भएको येँया भनिने इन्द्रजात्राको आज मुख्य दिन कुमारी रथयात्रा हुँदैछ।

इन्द्रजात्राकाे अवसरमा राष्ट्रपतिबाट हनुमानढोकाको गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा अवलोकन गर्ने परम्परा छ । आज दिउँसो कुमारीको रथलाई काठमाण्डौको तल्लो क्षेत्र लगन, मरु, लगायतको ठाउँमा तानेर क्वःनेयाः मनाइनेछ । कुमारीको रथसँगै लाखे, पुलुकिसी, लगायतका देवदेवीको नाच पनि प्रदर्शन गरिनेछ ।

हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा ठड्याएपछि सुरु भएको जात्राभरि सवःभक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

इन्द्रध्वजा ठड्याएको आठौँ दिनपछि अर्थात आश्विन कृष्ण चौथीका दिन मङ्गलवार ढालेपछि इन्द्रजात्राका अवसरमा गरिने सबै धार्मिक गतिविधि पनि समापन गरिनेछ । त्यस्तै आज भक्तपुरमा सिद्धपोखरी मेला सुरु हुँदैछ।

आज बेलुकीदेखि सुरु हुने मेलामा वंशगोपाल चोकबाट आज राति वंशगोपालको मूर्तिलाई पोखरी राखेर नुहाइदिने गरिन्छ । त्यस्तै ललितपुरको पाटनको सुन्धारा लगायतको ठाउँमा महादेवको विशेष पूजा गरेर इन्द्रजात्रा मनाइँदैछ । पाटनको येँया पर्सि पूर्णचण्डीमा भुजा राखेपछि समापन हुने गर्दछ । इन्द्र जात्राका अवसरमा आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web