रसुवा । रसुवाको गोसाइँकुण्डमा लाग्ने विशेष मेलाका लागि चहलपहल सुरु भएको छ ।
मेलाको व्यवस्थापन तथा आवश्यक खाद्यान्नको ढुवानी थालिएको छ । मेला भर्न निलाद्री पर्वत पुग्ने भक्तजनलाई भोजनको व्यवस्था मिलाउन स्थानीय व्यवसायीले खाद्यान्न ढुवानी गर्न थालेका हुन् । आउँदो साउन २७ गते जनैपूर्णिमामा लाग्ने गोसाइँकुण्डको विशेष धार्मिक मेलामा १५ हजार भक्तजन आउने गोसाइँकुण्ड क्षेत्र विकास समितिले आकलन गरेको छ ।
गोसाइँकुण्ड जाने धार्मिक यात्रुलाई खान तथा बस्न कुनै समस्या नपर्ने होटल सङ्घ रसुवाका अध्यक्ष रामशरण गजुरेलले जानकारी दिनुभयो । आवश्यक खाद्य सामग्री भरिया तथा खच्चड, घोडाद्वारा ढुवानी भइरहेको लौरी विनायकका व्यवसायी पासाङ ग्याल्पो तामाङले बताउनुभयो ।
साउन २३ गते पुत्रदा एकादशीबाट स्नान सुरू भइ २७ गते समापन हुने जनैपूर्णिमा मान्न २२ गते नै भक्तजन गोसाइँकुण्ड पुग्ने गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमले बताउनुभएको छ । तीर्थमा आएका भक्तजनलाई लौरीको नाममा रुखबिरुवा नकाट्न र फोहर जथाभाबी नफाल्न लाङटाङ राष्ट्रिय निकुञ्जले अनुरोध गरेको छ ।
30.86¡ÆC