
काठमाडौँ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली स्कटल्यान्डसँगको खेलमा नेपाल एक सय २८ रनमा अलआउट भएको छ ।
स्कटल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ३५ ओभर ५ बलमा एक सय २८ रन बनाउँदा अलआउट भयो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाए । यस्तै कप्तान सन्दीप लामिछानेले २२, विनोद भण्डारीले १३, देव खनाल र रोहित पौडेलले १०/१०, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसीले सात/सात तथा कुशल भुर्तेलले तीन रन बनाए । आरिफ शेखले खाता पनि खोल्न सकेनन् ।
स्कटल्यान्डका हम्जा ताहिरले चार, मार्क वाटले तीन, गाभिन मेइनले दुई र क्रिस्टाेफर म्याकब्राइटले एक विकेट लिए ।
यसअघिको खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले हराएको थियो । तर नेपाल नामिबियासँग पहिलो खेलमा ४० रन र दोस्रो खेलमा ६३ रनले पराजित भएको थियो । नेपालसँग पराजित स्कटल्यान्डले भने नामिबियालाई दुवै खेलमा हराएको छ ।
नेपाल लिग–२ को अङ्क तालिकामा छैटौँ स्थानमा छ ।