आउँदो ३ दिन देशभर ठूलो पानी पर्ने, सावधानी अपनाउन आग्रह

असार १५, २०७९ मा प्रकाशित | 310 views

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले आउँदाे तीन दिन देशभर ठूलाे पानी हुने भन्दै उच्च सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

आज बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा बोल्दै महानिर्देशक जोशीले आउँदाे तीन दिन देशभर ठूलाे पानी पर्ने भएकाले उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गर्नुभएको हो । उहाँले आउँदाे तीन दिन तराईका सबै जिल्ला र गण्डकी प्रदेशमासमेत ठूलाे पानी पर्ने र र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिन सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘तराईका लगभग सबै खोलामा बाढी आउने भनेर पूर्वानुमान गरेका थियौँ । अहिले पूर्वदेखि पश्चिमसम्म त्यही अवस्था छ । खोलाको जलस्तर बढेर डुबान र बाढीले समस्या दिने सम्भावना छ । आउँदाे तीन दिन ठूलाे पानी पर्नेछ । जसका कारण खोलानाला बढ्न गइ कुन–कुन खोलामा के हुन्छ भन्ने सम्बन्धित निकायलाई जानकारी गराइसकेका छाैँ ।’

महानिर्देशक जोशीले विभागले मौसमसम्बन्धी निकाल्ने नियमित बुलेटिन बाहेक विशेष बुलेटिन निकालेको अवस्थामा अझ सतर्क हुन आग्रह गर्नुभयो । मनसुन सुरु भएदेखि विभागले एनसेल र एनटिसी सिमबाट अहिलेसम्म २० लाख एसएमएस गरिसकेको उहाँले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web