वर्षाको कारण फोहोर ढुवानीमा समस्या

असार १४, २०७९ मा प्रकाशित | 209 views

काठमाडौँ । केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाण्डौ उपत्यकाको फोहाेर ढुवानीमा फेरि समस्या भएको छ । निरन्तर परेको पानीले काठमाण्डौदेखि अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडासम्म पुग्ने सडक भत्किँदा नियमित रूपमा फोहरका गाडी जान सकेका छैनन् ।

सामान्य अवस्थामा हरेक दिन तीन सयसम्म फोहरको गाडी बञ्चरेडाँडा पुग्ने गरेका थिए । तर, लगातारको झरीले सडक भत्किँदा अहिले मुस्किलले एक सय गाडीले मात्र फोहर ओसारेका काठमाण्डौ महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिनुभयो । कोल्फु खोलादेखि नै कच्ची सडक रहेको र यसअघि फोहर व्यवस्थापन गर्दै आएको सिसडोल पार गर्दै फोहरकै डङ्गुरबाट गाडी बञ्चरेडाँडा जानुपर्ने हुँदा समस्या भएको प्रमुख राईले बताउनुभयो ।

गएको फागुनदेखि सिसडोल बञ्चरेडाँडा स्थानीयबासिन्दा र जनप्रतिनिधिले विभिन्न माग राख्दै अवरोध गर्दा काठमाण्डौमा फोहोर थुप्रिएको थियो । सिसडोल बञ्चरेडाँडा स्थानीयवासीन्दाको समस्यालाई समाधान गर्नका लागि केही दिनअघि स्थानीयबासिन्दा र जनप्रतिनिधिसँग काठमाण्डौ महानगरपालिकाले १८ बुँदे सहमति गरी फोहर व्यवस्थापनको काम नियमित गर्दै आएको थियो ।

तत्कालका लागि स्थानीयवासीन्दाको अवरोध हटे पनि हरेक दिन पानी पर्दा समस्या दोहोरिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले आउँदो साउन १ गतेदेखि स्रोतबाटै कुहिने र नकुहिने फोहरको वर्गीकरण नगरे जरिबाना लिने सूचना निकालिसकेको छ । फोहोरको वर्गिकरण नगरे हरेक पटक ५ सय रुपैयाँ जरिबाना तिराइने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web