आर्मीले जित्यो मकवानपुर गोल्ड कपको उपाधि

जेष्ठ ३०, २०७९ मा प्रकाशित
Published at 2022-06-13

272 views

मकवानपुर । हेटौँडा उपमहानगरपालिका ५ को पिप्ले रङ्गशालामा सम्पन्न चौथो संस्करणको स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्ड कपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

भर्खरै सम्पन्न प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली विजयी युथ क्लब हेटौँडालाई दुई–एक गोल अन्तरले हराउँदै आर्मीले उपाधि जितेको हो । आर्मीले उपाधि शिल्डसँगै १५ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता बनेको हेटौँडाले शिल्डसँगै १० लाख रुपैयाँ पायो ।

आर्मीलाई जिताउन कप्तान भरत खवास र कमलबहादुर थापाले गोल गरे । घरेलु टोली विजय युथका डोना थापाले पेनाल्टीमार्फत एक गोल फर्काए । खेलको १५ औं मिनेटमा कप्तान भरत खवासको गोलबाट आर्मीले सुरुवाती अग्रता लिन सफल भएको थियो । त्यसको १० मिनेटपछि घरेलु टोलीले बराबरी गोल फर्काउन सफल भयो । युद्ध शाहीले पेनाल्टी बक्समा विमल रानालाई फउल गरेपछि रेफ्रीले विजय युथलाई पेनाल्टी दिँदा डोना थापाले गोल गरे । दोस्रो हाफको सुरुमै कमलबहादुर थापाले गोल गर्दै आर्मीलाई दुई–एक को अग्रता दिलाए । लगत्तै आर्मीले पेनाल्टीको अवसर पाए पनि दिनेश हेन्जनले गोल गर्न नसक्दा खेल दुई–एकमै सकियो । विजय युथका कप्तान तथा गोलरक्षक अशोक बरालले सन्तोष केसीलाई फउल गरेपछि पाएको पेनाल्टीमा दिनेशले गोल गर्न सकेनन् ।

मकवानपुर जिल्ला फुटबल सङ्घको आयोजनामा १२ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले हेटौँडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको एक थान बुलेट मोटरसाइकल हात पार्नेछ । व्यक्तिगत विधाका उत्कृष्टले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

आर्मी दाेस्राे पटक विजेता बनेकाे हाे । आर्मीले यसअघि २०७७ सालमा भएको तेस्रो मकवानपुर गोल्ड कपको फाइनलमा पनि घरेलु टोलीलाई हराउँदै विजेता बनेकाे थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.