विश्वकप क्रिकेट लिग-२ का लागि नेपाली राष्ट्रिय टोली अभ्यासमा व्यस्त

जेष्ठ २१, २०७९ मा प्रकाशित | 476 views

टेक्सस (अमेरिका) । विश्वकप क्रिकेट लिग-२ मा सहभागिताका लागि गत आईतबार अमेरिकाको टेक्सस राज्यको ह्युष्टन शहर आईपुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व कप क्रिकेट लिगको खेलहरुमा सहभागिता जनाउनु अघि तयारी स्वरुप एनआरएनए एनसिसी युएसए कपमा सहभागिता जनाएको छ । लिगका लागि तयारीमा व्यस्त रहेको टोलीले अमेरिकामा संचालन हुने विश्व कप क्रिकेट लिग २ को खेल अघि नेपाली अल स्टार क्लब र ह्युष्टन हुरिकेन क्लबसँग खेल्ने पूर्व निर्धारित कार्यतालिका अनुसार गत विहिवार नेपाली अल स्टार क्लबसँग प्रतिष्पर्धा गरेको छ । अर्को खेल शनिवार खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको व्यवस्थपान सहितको जिम्मेवारी पूरा गर्न अमेरिका पुग्नुभएका क्यानका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख दुर्गाराज पाठकले जानकारी दिनुभयो । 

क्रिकेट खेलमा उत्कृष्ट देशहरुको सूचीमा पर्ने विभिन्न देशहरुवाट अन्तराष्ट्रिय खेलमा सहभागिता जनाईसकेका खेलाडीहरु सम्मिलित नेपाली अल स्टारसँग नेपाली राष्ट्रिय टोलीले खेलेको विहिवारको खेलमा भने जित आत्मसात गर्न सकेन । कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएपनि नेपाली राष्ट्रिय टोली नेपाली अल स्टार्ससाग ४ विकेटले पराजित भएको थियो । ब्याटिङ गर्दै नेपाली राष्ट्रिय टोलीले १ सय ९१ रन जोडेको थियो । जुन विजयी लक्ष्य आइपिएलमा समेत सहभागिता जनाईसकेका विपुल शर्माको ५० रनको योगदानमा नेपाली अल स्टार्सले ३३ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर प्राप्त गरेको थियो ।

विजयी टिमका लागि गौरभ बजाज ५८ बलमा २ चौकासहित ४० रनमा अविजित पारी खेलेका थिए । पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४५ दशमलव ५ ओभरमा १ सय ९० रनमा अल आउट भएको थियो । नेपालका लागि आरिफ शेखले ६० रनको अविजित पारी खेलेका थिए ।

विजयी तथा उपविजयी टोलीलाई एक कार्यक्रमका बिच गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष बुद्दिसागर सुबेदी, उपाध्यक्ष तथा एनआरएनए अमेरिकाका युवा तथा खेलकुद विभाग प्रमुख सुमन थापा, नेपलिज एशोसिएशन अफ ह्युष्टनका अध्यक्ष बिष्णु नेपाल, नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक पृवुदु दासानायके लगायतले ट्रफी प्रदान गरेको थिए । सो अवसरमा नेपाली अल स्टारको तर्फवाट नेपालको तर्फवाट अन्तराष्ट्रिय खेलका सहभागिता जनाईसकेका अन्तराष्ट्रिय खेलाडी कनिष्क चौगाई, बरदान चालिसे, विनोद दास र बसन्त रेग्मीलाई सम्मान गरिएको थियो ।

नेपाली राष्ट्रिय टोलीलाई तयारीका लागि सहज होस् भन्ने उद्देश्यले अल स्टारले आफ्ना नियमित सदस्यहरुसहीत विभिन्न देशवाट अन्तराष्ट्रिय खेलमा सहभागि भैसकेका खेलाडीहरु समेटेर टोली तयार गरेको क्लबका सदस्य बरदान चालिसेले बताउनुभयो ।
ओमान विरुद्व खेल हुनु भन्दा दश दिन अघि नेपाली राष्ट्रिय टोली अमेरिका आई प्रशिक्षणमा रहेको छ । पहिलो पटक अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीलाई आईसिसीले तोकेको समय भन्दा पहिलानै यहाँ ल्याई प्रशिक्षणको प्रबन्धका लागि अमेरिकामा रहेको नेपाली क्रिकेट क्लब नेपाली अल स्टारले पहलकदमी लिएको हो । यस कार्यमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्ले महत्वपूर्ण योगदान गरेको क्लबका क्लबका सदस्य संजय शर्माले जानकारी दिनुभयो ।
नेपालको छवि अन्तराष्ट्रिय जगतमा चिनाउनको लागि महत्व पूर्ण भूमिका खेल्ने खेलाडीहरुलाई यसरी यहा स्वागत गर्न पाउनुलाई आफूहरुले सकारात्मक रुपमा लिएको क्लबका अर्का सदस्य आशिक लामाले बताउनुभयो ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाका सचिव अनुप खनालले सहयोगी सबैको साथ र सहयोगले एनआरएनए अमेरिकामा यस कार्यमा जोडिएर यसलाई सफल पार्ने दिशामा अघि बढेको बताउनुभयो ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले यस कार्यलाई विशेष महत्व दिएको बताउँदैं उपाध्यक्ष सुमन थापाले जतिसक्दो बढि सहयोग संकलन गरी राष्ट्रका हिरोहरुलाई सहयोग गर्ने संघको चाहना रहेको जानकारी दिनुभयो ।
संघका अध्यक्ष बुद्दिसागर सुबेदीले नेपाललाई अन्तराष्ट्रिय जगतमा चिनाउने खेलाडीहरुलाई संघले स्वागत गर्न पाउनु र उहाँहरुसँगको सहकार्यलाई विशेष रुपमा लिएको बताउनुहुँदै आगामी दिनमा पनि यस्तो कार्यमा संघ सदैव तत्पर रहने बताउनुभयो ।

 

नेपालले यहाँ रहँदा अमेरिकासँग दुई र ओमानसँग दुई खेल खेल्नेछ । नेपालको पहिलो खेल जुन ९ मा ओमान विरुद्व हुनेछ । त्यसैगरी जुन ११ मा अमेरिकासँग र जुन १४ मा ओमानसँग र जुन १५ मा अमेरिकासँग नेपालको खेल हुनेछ ।

विश्व कप क्रिकेट लिग अन्तर्गतका खेलहरु भने २८ मे वाट सुरु हुनेछ । २८ मे वाट जुन ४ सम्म अमेरिका, स्कटल्याण्ड र संयुक्त अरब ईमिरेट्सका बिच सिरिज का खेलहरु हुनेछ भने नेपाल, ओमान र अमेरिका बिचको सिरिज अमेरिका र ओमान विचको जुन ८ मा हुने खेलवाट सुरु हुनेछ ।

आईसिसी क्रिकेट वल्र्ड कप लिग टु मा रहेका ७ देशहरु विश्व कपका लागि छनौट हुन प्रतिष्पर्धामा छन् । अहिले सम्म अंक तालिकामा ओमान ३२ खेल खेल्दै १९ जित सहीत ४० अंक सहीत शिर्ष स्थानमा रहेको छ । यसैगरी स्कटल्याण्ड १६ खेलमा ११ मा जित निकाल्दै २४ अंक सहीत दोस्रो स्थानमा रहेको छ । यस्तै, युएई १८ खेलमा १० जित निकाल्दै २२ अंकका साथ तेस्रो स्थानमा, नामिबिया १४ खेलमा ७ मा जित निकाल्दै १४ अंकका साथ चौथो स्थानमा, युएसए १६ खेलमा ७ मा जित निकाल्दै १४ अंकका साथ पाँचौ स्थानमा , नेपाल १२ खेलमा ६ मा जित निकाल्दै १२ अंकका साथ छैठौं र पपुवा न्यूगिनी २० खेलमा १ मा जित निकाल्दै २ अंकका साथ सातौं स्थानमा रहेको छ ।

नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web