
रसुवा । रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ । रसुवा र चिनको केरूङ जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको भर्चुअल वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयातको परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
नौ वटा कन्टेनरमार्फत भइरहेको आयातलाई वृद्धि गरी आउने मंगलबारदेखि दैनिक १४ वटा कन्टेनर रसुवागढी ल्याउने सहमति भएको उहाँले बताउनुभयो । चिनियाँ सामग्रीको आयात परिमाण बढ्ने भएपछि यहाँका व्यापारी र व्यवसायीलगायत सबैमा उत्साह बढेको छ ।
कोरोना सङ्क्रमणपश्चात् सीमा क्षेत्रको मितेरी पुलमा आवतजावत बन्द भए पनि चिनियाँ पक्षले माग पूर्ति गर्न दैनिक तीन वटा ठूला कन्टेनरबाट आयात सुरू गरेको थियो । दैनिक १४ वटा ठूला चिनियाँ कन्टेनर मार्फत सामग्री ल्याउन थालेपछि नेपालतर्फ रहेको २८ वटा नेपाली कन्टेनरले दैनिक रोजगारी पाउने आशा बढेको नेपाली व्यवसायीले बताएका छन् ।