युक्रेनबाट नेपालीको उद्धार चल्दै

फाल्गुन १५, २०७८ मा प्रकाशित | 544 views

काठमाडौँ । युक्रेनबाट नेपालीको उद्धार चलिरहेको छ । जर्मनीमा रहेको नेपाली दूतावासका अनुसार दुई सय २५ जना नेपाली निरन्तर सम्पर्कमा छन् । उनीहरुमध्ये एक सय नेपाली पोल्यान्ड सीमामा पुगेका छन् ।

१५ जना भने पोल्यान्ड पुगिसकेका दूतावासले विज्ञप्ति निकालेर जानकारी दिएको छ । त्यस्तै २३ जना स्लोभाकियाको सीमा क्षेत्रमा आइपुगेका छन् भने तीन जना स्लोभाकिया पुगिसकेका छन् । त्यस्तै हङ्गेरीमा दुई जना, रोमानियामा एक जना र दुई जना रोमानिया पुग्न बाटोमा छन् ।

भोकभोकै सीमा क्षेत्रमा पुगेको त्यहाँ रहेका नेपालीको गुनासो छ । युक्रेनबाट नयाँ देश पुग्नेबित्तिकै सम्पर्क टुट्ने भएकाले स्लोभाकिया, पोल्यान्ड, रोमानियालगायतका देशमा पुगेका नेपालीलाई सहयोग जुटाउन भने समस्या परेको छ।

जर्मनीमा रहेको नेपाली दूतावासले युक्रेन र वरिपरिका देशहरूमा रहेका नेपाली समुदाय तथा गैर नेपाली सङ्घसंस्थाहरू परिचालन गरेर सक्दो सहयोग गर्ने प्रयास भइरहेको समेत जनाएको छ । जर्मनीमा रहेको दूतावासले कागजात नभएका नेपालीलाई ट्राभल डकुमेन्ट बनाएर पठाउने गरेको छ ।

१९ जना नेपालीलाई हिजो यात्रा अनुमतिपत्र पनि उपलब्ध गराइएको विज्ञप्तिमा उल्लेख छ ।पोल्यान्ड, हङ्गेरी, रोमानिया र स्लोभाकियालगायतका देशमा रहेका नेपाली समुदायसँग समन्वय गरी दूतावासले उद्धार कार्य थालेको छ। साथै दूतावासले छिमेकी देशहरूमा रहेका भारतीय दूतावाससँग पनि सहयोगका लागि पत्राचार गरेको राजदूत रामकाजी खड्काले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web