एमसीसीलाई देखाउँदै चीन र अमेरिकाको अस्वाभाविक सक्रियता

फाल्गुन ७, २०७८ मा प्रकाशित
Published at 2022-02-19

167 views

काठमाडौँ । नेपालमा एमसीसी परियोजनाको विषयलाई शक्ति राष्ट्रहरु अमेरिका र चीनले अस्वाभाविक सक्रियता बढाएपछि यो विषय थप जटिल बनेको छ । एमसीसीबारे दलहरु विभाजित भइरहेको बेला चीन र अमेरिकाबीच टकराव देखिएको हो ।

अमेरिकाले नेपालसँगको सहकार्यको नाममा धम्की कुटनीति सुरू गरेको भन्दै चीनले यसको प्रतिरोध गर्ने भनेको छ । शुक्रवार बेइजिङमा भएको पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले अमेरिकाले नेपालसँगको सहकार्यको नाममा कुटनीतिक दबाब सुरु गरेको भन्दै नेपालको छिमेकी देश र विकास साझेदार देश भएको नाताले नेपाली नागरिकले आफ्नो स्वतन्त्र विकासको बाटो छान्न चीनले समर्थन गर्ने बताउनुभयो ।

उहाँको भनाइ सार्वजनिक हुनु पहिले नेपालका लागि अमेरिकी राजदूत र्यान्डी जे बेरीले ट्वीट गर्दै एमसीसीको विषयलाई लिएर नेपालमा भइरहेको विवाद र प्रदर्शनप्रति आपत्ति जनाउनुभएको थियो । उहाँले आफूहरु स्वतन्त्र अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक रहेको भन्दै हिंसा र हिंसालाई प्रोत्साहित गर्ने कार्य स्वीकार्य नहुने बताउनुभएको छ ।

एमसीसी सम्झौता अनुमोदन गर्ने या नगर्नेबारे नेपालका दलहरुले समयमै निर्णय गर्न नसक्दा यही विषयलाई लिएर दुई शक्ति राष्ट्रहरु आमनेसामने उभिएका हुन् । अनुदान सम्झौता लिने या नलिने विषय सार्वभौम देश नेपालको आत्मनिर्णयको कुरा हो । यसबारे निर्णय गर्ने अधिकार संसद्सँग छ । तर दलहरुले समयमै निर्णय गर्न नसक्दा बेइजिङ र वासिङ्टनले काठमाण्डौमाथि अनावश्यक दबाब सिर्जना गर्न खोजेका छन् ।

यसलाई कुटनीतिज्ञसँगै आमनागरिकले अस्वाभाविक भन्दै नेपालका दलहरुलाई उच्च कुटनीतिक चातुर्यता देखाउन सुझाव दिएका छन् । नेताहरु जिम्मेवार नहुँदा नेपालमा देखिने गरी वैदेशिक हस्तक्षेप बढ्न थालेको र भू-राजनीतिक भुमरीमा नेपाल परेको भन्दै चिन्ता व्यक्त भएको छ । नेपाललाई चीन र अमेरिकाको खेलमैदान नबनाइयोस् भनेर खबरदारी पनि सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.