३ बुँदे सहमति कार्यान्वयनबारे विप्लव समूह र मन्त्रीहरुबीच छलफल

माघ २९, २०७८ मा प्रकाशित | 432 views

काठमाडौँ । सरकारले तीन बुँदे सहमति कार्यान्वयनका विषयमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग छलफल गरेको छ ।

गृह मन्त्रालयमा शनिबार भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुनसचिव उदयराज सापकोटा तथा नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्मा सहभागी थिए ।

वार्तामा २०७७ फागुन २० गते नेपाल सरकार र विप्लव समूहबीच भएको तीन बुँदे सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

‘सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा सौहाद्रपूर्ण तरिकाले छलफल भयो,’ उनले भने ।

पोखरेलले फिर्ता लिन मिल्ने मुद्दा छिटो फिर्ता गर्ने विषयमा छलफल भएको पनि बताए ।

वार्तामा नेकपाका तर्फबाट प्रवक्ता विश्वकर्माले पार्टी कार्यकर्तालाई लगाइएका मुद्दा र जेलमा रहेका कार्यकर्ताको विवरण सरकारलाई बुझाएका थिए । सरकारका तर्फबाट पनि अहिलेसम्म थुनामा रहेका नेकपाका कार्यकर्ता र मुद्दाको विवरण वार्तामा प्रस्तुत भएको मन्त्रालयका प्रवक्ता पोखरेलले बताए ।

बैठकपछि नेकपा प्रवक्ता विश्वकर्माले वार्तामा तीन बुँदे सहमति कार्यान्वयनको टाइमलाइन बनाएको बताए । ‘आजको वार्तामा तीन बुँदे सहमति कार्यान्वयनको टाइमलाइन बनेको छ । हाम्रो माग कार्यान्वयनमा सरकार सकारात्मक देखिएको छ । केही विषय टुंगिएका पनि छन्, केही टुंगिने क्रममा छन् । आशा छ छिटै निष्कर्ष निस्केला,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web