ओली सात महिनापछि बालुवाटारमा

माघ २३, २०७८ मा प्रकाशित | 436 views

काठमाडौँ । प्रधानमन्त्रीबाट बाहिरिएको सात महिनापछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली औपचारिक बैठकका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले समसामयिक राजनीतिक विषयमा छलफलका लागि आमन्त्रण गरेपछि पूर्वप्रधानमन्त्री ओली आज आइतवार दिउँसाे बालुवाटार पुग्नुभएको हो ।

गएकाे असार २९ गते नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री बन्नुभएको थियो । त्यही दिन नै ओलीले बालुवाटार छाड्नुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल सुरु भएको छ । यही छलफलका लागि ओली बालुवाटार पुग्नुभएको हो ।

उहाँहरूबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी), स्थानीय तहकाे चुनाव र अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यक्रम रहेको बालुवाटारले जनाएको छ । यसअघि गएकाे पुस २४ गते प्रधानमन्त्री देउवा ओली निवास बालकोट पुग्नुभएको थियो । उहाँहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री देउवा बालकोट पुगेको झन्डै एक महिनापछि एमाले अध्यक्ष ओली बालुवाटारमा छलफल गर्न तयार हुनुभएको हो । एमालेको अवरोधका कारण सङ्घीय संसद्को बैठक लामो समयदेखि नियमित कार्यसूचीमा नै प्रवेश गर्न पाएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web