आयोजक सहारालाई हराउँदै एपीएफको सहज जित

माघ ६, २०७८ मा प्रकाशित | 763 views

पोखरा । पोखरा रंगशालामा बुधबारदेखि सुरु भएको २० औं आहारारा गोल्डकपमा आयोजक सहारा क्लबलाई २-० ले हराउँदै विभागीय टिम एपीएफले जित निकालेको छ। एपिएफको जितमा आवास लामिछाने र प्रदीप लामाले समान १-१ गोल गरेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलको १३ औं मिनेटमा एपीएफका आवास लामिछानेले पहिलो गोल गर्दै खेललाई अग्रता दिलाएका थिए। युरोपियन फुटबल खेलको अनुभव बटुलेका लामिछानेले जारी प्रतियोगिताको पहिलो गोलकर्ता बनेका छन्।

खेलको शुरूवातमै गोल खान पुगेकाले सहारा दबाबमा पुगेको थियो । निर्धारित पहिलो हाफमा १-० ले अग्रता लिएको एपिएफले दोस्रो हाफको सुरुआतमै दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाएको थियो।

खेलको दोस्रो हाफ ५९ औं मिनेटमा एपीएफका शनिष श्रेष्ठको लामो पासलाई कन्ट्रोल गर्दै प्रदीप लामाले बललाई दोस्रो गोल चुमाएका थिए । खेलमा आवास लामिछाने म्यान अफ दी म्याच घोषित भएका छन् ।

मोफसलकै चर्चित फुटबल प्रतियोगिताका रुपमा लिइएको आहारारा गोल्डकपको यसवर्षको संस्करण दर्शकबिना नै भइरहेको छ । कोरोना महामारीका कारण प्रशासनले भिडभाड गर्न रोकेकाले दर्शक बिनै प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताको दोस्रो खेल शुक्रबार हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ ।१० वटा टिम सहभागी रहेको प्रतियोगिताको विजेताले १० लाख र उप-विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web