पप्पु गुरुङ्-११ असार, दोधारा चाँदनी ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. १० कुतियाकवरमा आज पनि हतियार सहित आएका भारतीय प्रहरीले मदिरा पसलमा छापा हानेको छ ।

दुई दिन पहिले हतियार सहित प्रवेश गरेर मदिरा उत्पादन र विक्री वितरण बन्द गर्न धम्की दिएर गएको भारतीय प्रहरीको टोली आज फेरी आएको हो । आज अपरान्ह हतियार सहित आएका भारतीय प्रहरीले एक मदिरा पसलबाट ३० लिटर मदिरा बरामद गरेर लिएर गएको बताइएको छ ।

नेपालका सुरक्षा निकायले नै गस्ती गर्नु पर्ने स्थानमा भारतीय प्रहरी आउन थालेको हो । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक बिरेन्द्र वीर विश्वकर्माले भारतीय प्रहरी नेपाल आएको भए पनि मदिरा बरामद नगरेको बताउनुभयो ।

नेपालीले खोलेको पसलमा भारतिय बंगाली नागरिक काम गर्ने र सो पसलमा भारतीय नागरिकले मदिरा खाएर हो–हल्ला गर्ने भए पछि भारतीय प्रहरीले नेपालमा आएर सम्झाएको बुझिएको उहाले बताउनुभयो ।

नेपाली भू–भागमा भारतीय प्रहरीले छापा हानेको विषयमा भारतीय प्रहरी संग कुराकानी गरिने समेत प्रहरी निरीक्षक विश्वकर्माले बताउनुभयो । साथै उहाले कुतियाकवर र सुन्दरनगर क्षेत्रमा मदिरा उत्पादन र विक्रीवितरण नगर्न सूचना प्रवाह गरिएको र अटेरी बनेमा कारवाही गर्ने बताउनुभयो ।

उता स्थानियहरुले भारतिय प्रहरीहरुले समय समयमा नेपाली मदिरा पसलमा आएर घरेलु मदिरा अबैध भन्दै आफु संग लिएर जाने गरेको बताएका छन् । नेपाली प्रहरीले केहि नगर्ने तर भारतिय प्रहरीे सिमा क्षेत्रमा मदिरा पसल प्रति आपत्ती भएको बताउदै बेलाबखत छापा मार्ने गरेको सथानियहरुको गुनासो छ ।

“यो सरासर भातिय प्रहरीको ज्यादती भयो” नाउ उल्लेख सर्तमा कुतियाकवरका एक स्थानियले भने । दोधारा चाँदनीको कुतियाकवर र सुन्दरनगर लगायतका भारतीय सीमा क्षेत्रमा मदिराको उत्पादन र विक्री वितरण हुदै आएको छ । मदिराको कारोवार रोक्न नेपाल प्रहरी सक्रिय हुनु पर्नेमा नेपाली भूभागमा भारतीय प्रहरी आउन थालेको हो ।

20.71¡ÆC