राष्ट्रिय आविष्कार केन्द्रलाई इजरायलको सहयोग

पुस २२, २०७८ 2022-01-06 मा प्रकाशित
Published at 2022-01-06

542 views

काठमाडौँ । इजरायल सरकारले महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई उच्च प्रविधिको ल्याब सहयोग गरेको छ । आज बिहीवार आविष्कार केन्द्रमा पुगेर नेपालका लागि इजरायली राजदूत हनान गोडेरले आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई ल्याब हस्तान्तरण गर्नुभयो ।

ल्याबमा बसेर विश्वका विभिन्न देशका विज्ञ तथा वैज्ञानिकसँग पछिल्लो समय विज्ञान र प्रविधिको क्षेत्रमा भएको प्रगतिको सम्बन्धमा छलफल गर्न सकिने जनाइएको छ । ‘हाईटेक क्लास रुम’ को नाम दिइएको ल्याबमा बसेर एक अर्काको ज्ञान तथा सीप आदानप्रदान गर्न सकिने आविष्कार केन्द्रका प्रमुख महावीर पुनले बताउनुभयो । याे ल्याबलाई विश्वमा छिटोभन्दा छिटो विकास भइरहेको प्रविधिका बारेमा सर्वसाधारणलाई जानकारी दिनका लागि प्रयोग गरिने उहाँले बताउनुभयो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै नेपालका लागि इजरायली राजदूत हनान गोडेरले मानिसहरूको जीवन पद्धतिलाई परिवर्तन गर्न विज्ञान र प्रविधिमा भएका परिवर्तनको अध्ययन आवश्यक रहेको बताउनुभयो । इजरायलले नेपालमा प्रविधिसहितको ल्याबका लागि सहकार्य गर्न पाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

याे ल्याबमा २० जनाको क्षमता रहेको आविष्कार केन्द्रले जनाएको छ । अहिले ३० लाख रुपैयाँ बराबरको प्रविधि राखिएको र लागत अझै बढ्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.