त्रिशूली । स्थानीयतहमा पुगेर संकलन गरिएको फोटो सहितको मतदाता नामावली अभियानबाट नुवाकोटमा करीब ६ हजार नयाँ मतदाता थपिएका छन् । गएको मंसिर १७ गतेदेखि पुस ८ गतेसम्म दुई चरणमा जिल्लाको ११ स्थानीयतहको केन्द्रमा पुगेर संकलन गरिएको अभियानमा ६ हजारको हाराहारीमा नया मतदाता थप भएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटका निर्वाचन अधिकारी राकेश गुरुङले जानकारी दिनुभएको छ । उहाँको अनुसार जिल्लाको ११ स्थानीयतहमा दश दिनसम्म चलाइएको स्थलगत नामावली संकलन अभियानमा पाच हजार ८२९ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयले पाच हजार नयाँ मतदाता थप हुने अपेक्षा गरेकोमा त्यो भन्दा बढी मतदाता थपिएसगैँ स्थलगत रुपमा चलाइएको अभियान सफल एंव प्रभावकारी भएको निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।
यसको साथै स्थानीयतहमा संकलनको लागी टोली खटाएसगैँ त्यसबाट भएको जागरणबाट अहिले नामावली दर्ताको लागी आउनेको सङ्ख्या निकै बढेको छ । पालिकाको केन्द्रबाट संकलन गर्ने अवधि पूरा भएसगैँ अहिले जिल्ला निर्वाचन कार्यालय विदुर र जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट फोटो सहितको मतदाता नामावली संकलन भइरहेको छ । गएको मंसिर १७ गतेदेखि सुरु भएको अभियानमा जिल्ला निर्वाचन कार्यालयमा अहिलेसम्म ७१८ र जिल्ला प्रशासन कार्यालयमा ९५६ जना नयाँ मतदाता थपिएका छन् ।
पालिकाको केन्द्र सहित प्रशासन र निर्वाचन कार्यालय समेत गरेर सात हजार ५०४ जना नयाँ मतदाता थपिएका छन् । पालिकातहमा गएर नामावली संकलन गर्नुअघि नुवाकोटमा दर्ता भएको विवरण अनुसार फोटो सहितको मतादाता नामावलीमा नाम उल्लेख हुनेको सङ्ख्या महिला एकलाख १७ हजार र पुरुष एक लाख १० हजार रहेका छन् । यस्तै, तीनजनाले तेश्रोलिङ्गीको रुपमा नामावली दर्ता गराएका छन् ।

अहिलेपनि जिल्लाको निर्वाचन कार्यालय विदुर र प्रशासन कार्यालयबाट फोटो सहितको मतदाता नामावली संकलन भैरहेको छ । १६ वर्ष उमेर पूरा भएर नागरिकता बनाएकालाई तथा उमेर पुगेर पनि छुट भएकाहरुलाई नाम दर्ता गर्न तथा यसअघि नामावली दर्ता भएकाहरुको नाम सच्याउन परेमा तथा अर्कै पालिका तथा जिल्लाको बासिन्दा भएकाले अध्यावधिक गर्नु परेमा जिल्ला निर्वाचन कार्यालय विदुरमा सम्पर्क राख्नको लागी भनिएको छ ।
23.12¡ÆC