सुदूरपश्चिममा पाँच उत्कृष्ट कृषक पुरस्कृत

पुस ६, २०७८ मा प्रकाशित | 352 views

डोटी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका उत्कृष्ट पाँच किसानलाई पुरस्कारसहित सम्मान गरेको छ ।

प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि विकास निर्देशनालय राजपुर डोटीले सोमबार एक कार्यक्रम आयोजना गरी प्रदेशका एक किसानलाई सर्वोत्कृष्ट र अन्य चार जनालाई उत्कृष्टको रुपमा सम्मान गरेको हो ।

सुदूरपश्चिमका किसान नेता भिमदत्त पन्तको नामबाट ‘भिमदत्त उत्कृष्ट कृषक पुरस्कार’ वितरण गरिएको कृषि विकास निर्देशनालयका निर्देशक यज्ञराज जोशीले बताए ।

जोशीले सर्वोत्कृष्ट कृषक कञ्चनपुर भिमदत्त नगरपालिका-१० का केरा खेती किसान पूर्णसिंह साउँद भएको बताए । यस्तै उत्कृष्टको रुपमा पुरस्कृत हुनेहरुमा डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ का तरकारी कृषक दत्तराम अवस्थी, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० का गाईपालन कृषक रमेशबहादुर धानुक, डोटीको जोरायल गाउँपालिका-१ का तरकारी कृषक खडकबहादुर मल्ल र डडेल्धुराको आलिताल गाउँपालिका-७ का शोभाकुमारी बोहरा रहेका छन् ।

जोशीले जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा रहेको जिल्लास्तरीय उत्कृष्ट कृषक छनौट समितिले प्रत्येक जिल्लाबाट तीन जना कृषकको नाम सिफारिस गरेको र त्यसमध्ये प्रदेश कृषि मन्त्रालयका सचिवको नेतृत्वमा रहेको टोलीले पाँच जनालाई छानेको बताए ।

कृषकहरुको हौसला बढाउन र कृषि पेशालाई सम्मानित बनाउन कृषकहरुलाई पुरस्कृत गरिएको जोशीले बताए । उनले सर्वोत्कृष्ट कृषकलाई एक लाख रुपैयाँ र उत्कृष्ट कृषकहरुलाई जनही ७५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको बताए । उनले पुरस्कृत कृषकहरुलाई दोसल्ला ओढाएर सम्मान पत्र समेत दिइएको बताए ।

उत्कृष्ट कृषकहरुलाई सम्मान गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले कृषिलाई सम्मानित पेशा हो भनेर चिनाउनका लागि कृषकको सम्मान कार्यक्रम आयोजना गरेको बताए । ‘विगतमा हामीले कृषि क्षेत्रलाई महत्व दिए पनि कृषकहरुलाई सम्मान गर्न सकेनौं, जसका कारण युवाहरु कृषि पेशाप्रति आकषिर्त हुन सकेनन्’ मुख्यमन्त्री भट्टले भने, ‘बरु भारतमा गएर जस्तोसुकै काम पनि गर्ने तर आफ्नो देशमा कृषि पेशा गरे अपहेलित भएको महसुस गर्ने बानी युवाहरुमा पर्‍यो ।’ त्यस्ता युवाहरुलाई कृषि पेशा सम्मानित पेशा हो भन्ने सन्देश दिन यो पुरस्कारको कार्यक्रम आयोजना गरिएको उनले थपे ।

मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेश सरकारले कृषि पेशालाई मुख्य प्राथमिकतामा राखिएको बताए । उनले भने ‘कृषिमा सम्भावना पनि छ, कृषिबाटै प्रदेशलाई आत्मनिर्भर बनाउन सकिन्छ, कृषिबाटै प्रदेशलाई समृद्ध बनाउन सकिन्छ ।’

भट्टले केरा उत्पादन गरी अन्य प्रदेशहरुमा पनि निर्यात हुनसक्ने भन्दै पहाडमा केरा खेतीको सम्भाव्यता अध्ययन गर्न सम्वन्धित निकायलाई निर्देशन दिए ।

कार्यक्रममा सर्वोत्कृष्ट कृषक साउँदले आफ्नो कामको सम्मान भएको भन्दै खुशी व्यक्त गरे । उनले भने, ‘मैले २०५८ मा एक कठ्ठा जमिनमा केरा खेती गरेको थिएँ, त्यसबाट फाइदा भयो अनि १० कठ्ठामा केरा खेती गरें ।’ हाल आफूले २२ बिघा जग्गामा केरा खेती गरिरहेको साउदले सुनाए । उनले भने ‘मेरो केरा खेतीबाट २४ जनाले प्रत्येक्ष रोजगारी पाएका छन्, मैले केरा खेतीबाटै वाषिर्क ३० लाख रुपैयाँ आम्दानी गरिरहेको छु ।’ केरा खेतीबाटै छोरालाई पढ्नका लागि विदेश पठाएको र छोरीलाई एयर होस्टेस पढाइरहेको उनले बताए ।

गत वर्ष आफूले एक लाख बिरुवा समेत बिक्री गरेको बताउँदै उनले भने, ‘मैले बाख्रा पालन पनि सुरु गरेको छु, हाल ४० वटा बाख्रा छन् ।’ करिब डेढ सय बाख्रा पालेर स्थानीय युवालाई रोजगारी दिने आफ्नो लक्ष्य रहेको उनी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web