डा.मिनेन्द्र रिजालले राजीनामा दिनुको कारण यस्तो रहेछ !

पुस १, २०७८ मा प्रकाशित | 521 views

काठमाडौ । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले भावावेशमा नभइ राजनीतिक पुँजी बचाइराख्न मन्त्री पदबाट राजीनामा दिएकाे बताउनुभएकाे छ ।

नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशमा महामन्त्री पदमा पराजित भएपछि रिजालले आज बिहीवार दिउँसाे रक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री पदबाट राजीनामा दिएकाे जानकारी गराउनुभएको हो । उहाँले लामो राजनीतिक जीवनबाट आर्जन गरेको सम्पत्ति ‘राजनीतिक पुँजी’ बचाइराख्न रक्षामन्त्री पदबाट राजीनामा गरेको स्पष्ट पार्नुभयो । आफू राजनीतिमा हारेको वा थाकेको सिपाही नभइ दृढ निश्चयका साथ अघि बढ्न सक्ने आत्मविश्वासका साथ उभिएको पनि रिजालले बताउनुभयो ।

उहाँले भन्नुभयो, राजनीतिक सम्पत्ति गुमाएँ कि जस्तो लाग्यो । मैले निर्वाचन हारेको मात्रै होइन । त्यसैले पनि राजनीतिक पुँजी बचाएर राख्नुपर्छ भन्ने लागेर नै यो राजीनामा गरेको हो । अहिलेको निर्णय रक्षामन्त्री पदबाट राजीनामा दिने निर्णय मात्रै हो । त्योभन्दा अगाडि के हुन्छ सोचेको छैन । राजीनामाभन्दा पनि बढी गम्भीर व्यक्तिगत जीवनमा उतारचढाव होला तर कांग्रेस निश्चल बगिरहन्छ । यसले आफ्नो जिम्मेवारी पूरा गर्न सक्छ भन्ने गहिरो भाव र निश्चय भावका साथ म अगाडिको निर्णय गर्न सक्ने ठाउँमा उभिएको छु जस्तो लाग्छ । मैले यो विषयमा कसैसँग सल्लाह गरेको छैन । भावावेशमा होइन । सार्वजनिक जीवनमा बसिनँ भने पनि व्यक्तिगत जीवनमा पनि मलाई सन्तुष्टि हुने ठाउँ चाहिन्छ । कतिपयलाई लाग्यो मिनेन्द्र इमोशनमा पुगेर, झन्डै ६५ वर्ष पुग्न लागेको मान्छेलाई इमोसनलको कुरा के छ र ? आत्मश्लाघा भन्नु होला । आत्मविश्वास त छ । मन्त्री रहेर/नरहेर क्रियाशील राजनीतिमा रहेर/नरहेर म दृढ निश्चयको भावमा उभिएको छु । राजनीतिमा हारेको, थाकेको सिपाही होइन ।

आफूले कुनै लेनदेनबाट शेखर कोइरालालाई समर्थन नगरेको पनि उहाँले स्पष्ट पार्नुभयो । महामन्त्रीमा उम्मेदवारी दिँदै गर्दा पराजित हुनुपरे पनि आफूभन्दा सक्षम र सबैले पत्याएको मान्छे छाेडेर जानेमा आफू ढुक्क भएको भन्दै रिजालले पार्टी अझै सक्रियताका साथ अघि बढोस् भन्ने कामना आफ्नो रहेको बताउनुभयो ।

उहाँले पार्टीले चित्तबुझ्दो जिम्मेवारी नदिए राजनीतिबाटै अलग हुन सक्ने सङ्केत पनि गर्नुभयो । सञ्चारकर्मीको जिज्ञासामा उहाँले सक्रिय राजनीतिबाट अलग हुने निर्णयमा आफू पुगिनसकेको भए पनि त्यो सम्भावनालाई पनि नकार्न नसक्ने बताउनुभयो ।

रिजालले आफ्नो राजीनामा पत्र प्रधानमन्त्रीलाई बुझाएपछि मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web