काँग्रेस महाधिवेशन : सुरुमा उपसभापतिको मतगणना, महामन्त्रीको भोलि

मंसिर २९, २०७८ मा प्रकाशित | 362 views

काँग्रेस महाधिवेशन : सुरुमा उपसभापतिको मतगणना, महामन्त्रीको भोलि

काठमाडौ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको मतगणना बुधबार साँझ सुरु हुँदैछ । निर्वाचन समिति सदस्य केशव रिजालका अनुसार बुधबार सुरुमा उपसभापतिको मतगणना गर्ने निर्णय भएको छ ।

पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना एकसाथ गर्दा झन्झटिलो हुने भन्दै निर्वाचन समितिले पदाधिकारीको सकेर केन्द्रीय सदस्यको गणना गर्ने निर्णय गरेको रिजालले बताउनुभयो । पार्टी नेतृत्वले एकसाथ मतगणना गर्न अनुरोध गरे पनि निर्वाचन समितिले पदाधिकारीको सकेर मात्र केन्द्रीय सदस्यको मतगणना गर्नुपर्नेमा जोड दिएको हो ।

‘बुधबार साँझदेखि उपसभापतिको मतगणना हुन्छ’, रिजालले भन्नुभयो, ‘तीन ठाउँमा एकसाथ उपसभापतिको मतगणना हुनेछ ।’ रिजालका अनुसार उपसभापतिको मतगणना सकिएपछि बिहीबार बिहान मात्र महामन्त्रीको मतगणना हुनेछ । ‘महामन्त्रीको मतगणना सकिएपछि सह–महामन्त्रीको मतगणना हुनेछ’, उहाँले भन्नुभयो, ‘त्यसपछि मात्र केन्द्रीय सदस्यको मतगणना हुनेछ ।’

१४ औँ महाधिवेशनमा कांग्रेस उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, सुजाता कोइराला, धनराज गुरुङ, चन्द्र भण्डारी, महेश आचार्य र दिव्येश्वरी शाहले उम्मेदवारी दिनुभएको छ । पार्टी विधान अनुसार दुई जना उपसभापति महाधिवेशनबाट निर्वाचित हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web