केन्द्रीय अनुसन्धान ब्यूरोका सइ पक्राउ

मंसिर २८, २०७८ मा प्रकाशित | 935 views

काठमाडौ । गम्भीर प्रकृतिका विभिन्न घटनाको सुक्ष्म अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउने महत्वपूर्ण जिम्मेवारी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को हो। अन्य तथा मातहतकै निकायले अनुसन्धान गर्न नसकेका मुद्दाको कारण पत्ता लगाउनसमेत सिआइबीमाथि भरोसा गरिएको हुन्छ। तर, त्यसरी अनुसन्धान गर्ने सरकारको भरपर्दो निकाय सिआइबीका एक प्रहरी कर्मचारी मुद्दा मिलाइदिने भन्दै पैसाको मोलमोलाई गरेको आरोपमा पक्राउ परेका छन्।

सम्पति शुद्धीकरणसम्बन्धी विभागमा परेको मुद्दा मिलाइदिन्छु भन्दै मोलमोलाइ गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रहरी नायब निरीक्षक (सइ) विष्णु ढुंगाना पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार नक्साल क्षेत्रबाट उनलाई पक्राउ गरी अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ। प्रहरीमा परेको जाहेरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान थालिएको हो। उनीमाथि आपराधिक लाभ (एक्सटर्सन) कसुर गरेको आरोप छ। मुलुकी अपराधसंहिताको परिच्छेद २१ को दफा २५३ मा यससम्बन्धी कानुनी व्यवस्था छ।

उक्त व्यवस्थानुसार कसैले कुनै व्यक्तिलाई निजको वा अरू कसैको कुनै क्षति पुर्‍याउने डर–त्रासमा पारी निजबाट बेइमानीपूर्वक आफ्नो वा अरू कसैका लागि कुनै लाभ उठाएमा वा त्यस्तो लाभ उठाउने नियतले कुनै काम गराएमा वा निजलाई कुनै काम गर्नबाट रोकेमा आपराधिक लाभ लिएको मानिनेछ। उक्त आरोप प्रमाणित भएमा कम्तीमा एक वर्ष कैद र १० हजार जरिवाना हुने व्यवस्था छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web