नेपाली काँग्रेस बागमती प्रदेश सभापतिमा बानियाँ निर्वाचित

मंसिर २०, २०७८ मा प्रकाशित | 570 views

मकवानपुर । नेपाली काँग्रेस बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।
हिजो आइतबार भएको दोस्रो चरणको मतदानको अन्तिम परिणाम अनुसार बानियाँले एक हजार ८५ मत ल्याएर बागमती प्रदेश सभापतिमा चयन हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नुवाकोटका नेता जगदीश्वरनरसिंह केसी १५८ मतान्तरले पराजित हुनुभएको छ । केसीले ९२७ मत प्राप्त गर्नुभएको छ । निर्वाचनमा कुल दुई हजार २६ मत खसेकोमा १४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

बानियाँलाई सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला पक्षको समर्थन थियो भने केसीको पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह रहेको थियो । पहिलो चरणमा सिटौला समूहका भीमसेनदास प्रधान प्रतिस्पर्धामा थिए । तर, पहिलो चरणको मत परिणाम अनुसार तेस्रो भएपछि प्रधानले पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका बानियाँलाई साथ दिएका थिए । प्रधानको साथ पाएपछि बानियाँ केसीलाई पराजित गरी नेपाली काँग्रेस बागमती प्रदेशको पहिलो सभापति बन्न सफल हुनुभएको छ ।

बागमती प्रदेश काँग्रेस संसदीय दलका नेता बानियाँ मकवानपुर जिल्ला सभापति समेत रहेका छन् भने यसअघि देउवा नेतृत्वको सरकारमा बानियाँले गृह राज्यमन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए ।

पदाधिकारी तथा कार्यसमितिको मतगणनाको अन्तिम परिणाम आउन बाँकी रहेको छ । बागमति प्रदेश अधिवेशनले एक सभापति, दुई उप–सभापति, दुई महामन्त्री र एक महिलासहित तीन सह–महामन्त्री चयन गर्न लागेको छ । यस्तै, प्रत्येक जिल्ला २ जनाको दरले २६ जना, प्रदेश सभाको कुल निर्वाचन क्षेत्रबाट २२ जना, खस आर्यबाट १२ जना, आदिवासी जनजातितर्फबाट १७ जना, मधेशीबाट १ जना, दलितबाट २ जना, थारुबाट १ जना, मुस्लिमबाट १ जना र अल्पसंख्यक वा अपाङ्गता मध्येबाट १ जना गरी ९१ जनाको नयाँ समिति बनाउन लागिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web