धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमितता भएको भन्दै पाँच दिनदेखि चिकित्सक, नर्स, विद्यार्थी र कर्मचारी आन्दोलनमा छन् । आर्थिक अनियमितता गर्दै आएका उपकुलपति डा. ज्ञानेन्द्र कार्कीले कोभिड महामारीका वेला स्वास्थ्य सामग्री खरिदमा समेत भ्रष्टाचार गरेको आरोप लागेको छ । गम्भीर बिरामीलाई राखिने एचडियू (हाई डिपेन्डेन्सी युनिट) खरिदमा समेत भ्रष्टाचार गरेको भन्दै अख्तियारमा समेत उजुरी परेको छ ।

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले स्थानीय व्यापारी चेतन अग्रवालसँगको मिलेमतोमा सार्वजनिक खरिद नियमावलीविपरीत सामान खरिद गरेर अस्पताललाई घाटामा पारेको भन्दै एक डाक्टर र एक कर्मचारीले राजीनामा दिएका थिए । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्ने तयारी गरेका अग्रवालका दुई फर्म प्रेसिजन र सर्जिकेमबाट तीन करोड २६ लाखको सामान खरिद गरिएको थियो ।

उपकुलपति गिरी र अस्पताल निर्देशक डा. गौरीशंकर साहले अग्रवालसँगको मिलेमतोमा त्यस्तो निर्णय गरेको कर्मचारीहरू बताउँछन् । त्यसका लागि गत १८ जेठमै अग्रवालको कम्पनीलाई एक करोड २५ लाख भुक्तानी गरिसकिएको थियो । त्यसमध्ये २५ वटा एचडियू बेड बजार मूल्यभन्दा २६ लाख बढी राखेर खरिद गरिएको थियो । खरिदका लागि सुरक्षित चलान र कागजपत्र स्टोरको दाखिला नै छैन ।

उपकुलपति भएपछि गिरीले गत वर्षको लकडाउनमा काठमाडौंस्थित पार्क भिलेज रिसोर्टमा बिपी प्रतिष्ठानको कार्यकारिणी समितिको बैठक बसाएका थिए । उनले प्रतिष्ठानका नाममा काठमाडौंको बाँसबारीमा रहेको सात रोपनी, भक्तपुरमा रहेको १२ रोपनी, धरानको छाताचोकमा रहेको ६ कट्ठा, मोरङको सुन्दरहरैँचामा रहेको १४ बिघामध्ये ६ बिघा जमिन निजी क्षेत्रलाई ३५ वर्षसम्मका लागि लिजमा दिने निर्णय गराएका थिए । तर, चिकित्सक, प्रतिष्ठानका सिनेटरदेखि सर्वसाधारणसम्मले विरोध गरेपछि सो निर्णय कार्यान्वयन हुन सकेको छैन । यस्तै, अक्सिजन प्लान्ट मर्मतमा आफूनिकटलाई दिएर पूर्ण क्षमतामा नचलाई प्रतिष्ठानलाई क्षति पुर्याएको पनि चिकित्सक र कर्मचारीको आरोप छ ।

शृंखलाबद्ध रूपमा भइरहेको अनियमितता र भ्रष्टाचारलाई व्यवस्थापन पक्षले मलजल गरेको आरोप लगाउँदै बिपी स्वास्थ्य प्रतिष्ठान सुधार सञ्जाल गठन गरेर नागरिक समाज पनि आन्दोलनमा उत्रिएको छ । महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. राजेन्द्र शर्माको नेतृत्वमा बिपी प्रतिष्ठानका पदाधिकारीको कार्यशैलीविरुद्ध निरन्तर आन्दोलन चलिरहेको छ ।

बिपी प्रतिष्ठान धरानमा जारी आन्दोलन :

संघर्ष समितिका संयोजक डा. एसपी रिमालले भ्रष्टाचारविरुद्ध आवाज उठाउनेलाई नै कारबाहीको धम्कीसहितको पत्र काट्ने काम उपकुलपतिबाट भएकाले कडा रूपमा प्रस्तुत हुनुपरेको बताए । ‘उहाँहरू हाम्रो आवाजलाई दबाउने काममा लाग्नुभयो । त्यही भएर हामी अन्तिम लडाइँमा उपस्थित भएका छौँ । हामी प्राज्ञिक व्यक्ति भएकाले बन्द तोडफोडमा जाँदैनौँ । तर, अब ‘नैतिक बाध्यता’ कति सहने भन्नेमा पुगेका छौँ । यो अन्तिम लडाइँमा हाम्रा माग बेवास्ता गरिए दुई सय ५० फ्याकल्टी चिकित्सक, पाँच सय नर्स, तीन सय कर्मचारीले सामूहिक राजीनामा गर्नेछौँ,’ उनले भने ।

यता अस्पतालको स्रोतमा भ्रष्टाचार गरेको र चिकित्सक तथा कर्मचारीमाथि शोषण गरेको आरोप आन्दोलनकारीको छ । बढेको तलब नपाएको, चिकित्सकहरूको आन्तरिक बढुवा रोकेको, समयमा तलब नदिएको, कोभिड अस्पतालमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध नगराएकोलगायत माग राख्दै उनीहरू आन्दोलनमा उत्रेका हुन् । पछिल्लो समय प्रतिष्ठानमा भएको आर्थिक अनियमितताविरुद्ध आवाज उठाउने एक वरिष्ठ चिकित्सकसँग उपकुलपति डा. गिरीले स्पष्टीकरण माग गरेपछि आन्दोलन चर्किएको छ ।

गत ३० जेठमा गिरीले हाडजोर्नी विभागका वरिष्ठ चिकित्सक डा. विष्णु पोखरेललाई प्रतिष्ठानको आन्तरिक सूचना चुहाएको र प्रतिष्ठानको अहितमा बोलेको आरोपमा कारबाही गर्ने धम्कीपूर्ण स्पष्टीकरण सोधेका थिए । चिकित्सकसँग धम्कीसहित स्पष्टीकरण मागिएपछि आन्दोलन थप चर्किएको हो । चिकित्सकहरू अहिले उपकुलपतिको कार्यकक्षअगाडि ब्यानरसहित नियमित धर्नामा बसेका छन् । ३० जेठमा स्पष्टीकरण सोधिए पनि डा. पोखरलेलाई तीन दिनपछि मात्र पत्र बुझाइएको थियो । दन्त चिकित्सक, शिक्षक कल्याण समाजका अध्यक्षसमेत रहेका पोखरेलको बदनाम गराउन नियतवश उपकुलपति गिरीले प्रचारबाजी गरेको ठहर गर्दैै २ असारदेखि चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिष्ठान संयुक्त संघर्ष समितिले ११ सूत्रीय माग अघि सारेको छ । उपकुलपतिले आफ्नो शैक्षिक योग्यतामाथि उठेको प्रश्नबारे स्पष्ट पार्नुपर्ने, तीन वर्षदेखि रोकिएको फ्याकल्टी शिक्षकको बढुवा प्रक्रिया, स्वास्थ्यकर्मीको कोभिड भत्ता, शिक्षक तथा प्राध्यापकको तालिम तथा सेवा–सुविधा, इन्टरनेट, अस्पतालमा बिग्रिएका उपकरण बनाउनुपर्नेलगायत माग छन् । औपचारिक माग प्रतिष्ठानका पदाधिकारीसमक्ष राखे पनि कैयौँपटक आश्वासन मात्र पाइएकाले यसपटक माग सम्बोधन नभए चिकित्सकहरूले सामूहिक राजीनामाको चेतावनीसमेत दिएका छन् । हाल बिहान ८ देखि १० बजेसम्म धर्ना तथा प्रदर्शन हुँदै आएको छ । आइतबारदेखि कार्यक्रमको स्वरूप बदलेर बृहत् बनाउने तयारी भइरहेको संघर्ष समितिले जनाएको छ ।

प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीले नामको अगाडि प्राध्यापक प्रयोग गरेको भन्दै यो विषय पनि आन्दोलनको एक मुद्दा बन्न पुगेको छ । गिरीले आफ्नो नामअगाडि प्राध्यापक राखेर परिचय दिन थालेपछि यसबारे उपकुलपतिले स्पष्टीकरण दिनुपर्ने आन्दोलित चिकित्सकहरूले माग राखेका छन् । उनीहरूले उपकुलपतिले आफ्नो योग्यता प्रमाणपत्र सार्वजनिक गर्नुपर्ने बताए छन् ।

17.84¡ÆC