काठमाडौ । पहिरोका कारण तामाकोशी–सुनकोशी नदीको मुहान थुनिएको आशंका बढेपछि गृहमन्त्री खगराज अधिकारी शुक्रबार राति अबेरसम्म सुतेनन् । गृहमन्त्रालय मातहत रहेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले सूचना जारी गर्दै तल्लो तटीय क्षेत्रमा अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन भनेको थियो ।

शुक्रबार जारी गृहको सूचनामा भनिएको थियो, ‘असार ४ बेलुका ९ः४५ बजे जि.प्र.का. दोलखाबाट प्राप्त सूचनाअनुसार नेपाल–चीन सीमा क्षेत्रमा भारी वर्षा आएसँगै चिनियाँ क्षेत्रमा पहिरो आउँदा नदीको प्रवाह रोकिन गएको सूचना प्राप्त हुन आएकाले सो पहिरोको कारण आउन सक्ने बाढीबाट तामाकोशी र सुनकोशी नदीमा बहाव बढ्ने हुँदा तल्लो तटीय क्षेत्रमा अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाऔं ।’

शुक्रबार रातभर बढेको त्रासबारे गृहमन्त्री अधिकारीले भने, ‘हिजो रातभरि दोलखाका मान्छेहरु सुतेनन् । मैले परराष्ट्र मन्त्रालयमार्फत यो बाढी किन आयो पत्ता लगाउनुपर्यो भनें । यसका लागि तिब्बत स्वसाशित क्षेत्रमा सम्पर्क गर्ने कुरा भयो । पहिरो आएर नदी थुनिएको रहेछ, भोटेकोशी (सिन्धुपाल्चोक) मा पनि यसैगरी पहिरोले नदी थुनिएर बाढी आएको भन्ने छ ।’

गृहमन्त्री अधिकारीले राति नै परराष्ट्र मन्त्रालयमार्फत् तिब्बतमा सम्पर्क गरेर समस्याबारे बुझिएको बताए । उनले भने, ‘परराष्ट्रका सचिव र म सम्पर्कमै रह्यौं । सचिवले पनि विज्ञहरुलाई सोध्नुभयो, मैले पनि विज्ञहरुसँग सोध्दा विस्तारै खोल्दा ठीक हुन्छ भन्ने आयो । त्यसपछि आज हामीले विस्तारै खोल्दैछौं, अहिले दोलखातिरको बाढी कम भइसक्यो ।’

मनाङमा पनि स्थानीय सुरक्षा फौजले सक्रियतापूर्वक उद्धारको काम गरिरहेको गृहमन्त्री अधिकारीले जानकारी दिए । उनले भने, ‘मनाङमा पनि हामी पूरै सम्पर्कमा छौं । हाम्रो स्थानीय सुरक्षा फौज पूर्णरुपमा परिचालित छ ।’

सिन्धुपाल्चोकको हेलम्बुका जनताले सरकारसँग गुनासो गरिरहेका छन् नि भन्ने प्रश्नमा मन्त्री अधिकारीले हेलम्बुमा आजैमात्र काठमाडौंबाट सोलार पठाइएको र अब सम्पर्क स्थापित हुने जानकारी दिए ।

‘मैले बिहान ६ बजे नै यसबारे छलफल गरें । हामीले त्यहाँ आजै सोलारहरु पठाएका छौं । कति पुग्यो, बेलुका अपडेट हुन्छ’ मन्त्री अधिकारीले भने, ‘सोलार पठाएपछि अब त्यहाँ कमसेकम सम्पर्क स्थापित हुन्छ । त्यहाँ ६०÷७० वटा घरहरु जोखिममा परेका छन् । लामासाँघु, दोलालघाटको पुल पनि जोखिममा पर्न सक्ने सम्भावनाभित्रै पर्यो ।’

‘आराम गर्ने बानी छैन, हेलिकोप्टरबाट फोटो खिचेर उद्धार हुँदैन’ :

पूर्वस्वास्थ्यमन्त्री एवं नेकपा एमालेका नेतासमेत रहेका अधिकारी गृहमन्त्री बनेको बल्ल एक साता कटेको छ । रामबहादुर थापा बादलले सम्हालेको मन्त्रालयको जिम्मेवारी अधिकारीले सम्हाल्नासाथ मनसुनका कारण देश बाढी–पहिरोको चपेटामा परेको छ । अधिकारीले मन्त्रालयका बारेमा धेरै बुझ्नै नपार्ई फिल्डमा सक्रिय हुनुपरेको छ ।

तर, आफ्नो आराम गर्ने र प्रचारमुखी हुने बानी नरहेको मन्त्री उनी बताउँछन् । ‘हिजो पनि प्रधानमन्त्रीले तपाई रेस्ट लिनोस् है भन्नुभयो, मेरो सबैभन्दा खराब बानी नै यही हो, म रेस्ट लिनै सक्दिनँ’ गृहमन्त्री अधिकारीले रातोपाटीसँग भने, ‘मान्छेहरुले गुहार –गुहार भनिरहेका छन् । छतमा छु भनिरहेका छन् । जतिसक्दो चाँडो हेलिकोप्टर पुर्याएर उद्धार गर्नुपर्ने हुन्छ ।’ यस्तो बेलामा नेताहरु हेलिकोप्टर चढेर अवलोकनमा जानु भन्दा प्राविधिक व्यक्तिलाई पठाउन सके व्यक्तिको ज्यान बच्ने मन्त्री अधिकारीले बताए ।

‘हाम्रो चलन के छ भने मन्त्री जाने, हेलिकोप्टर चढेर हेर्ने अनि फोटो खिचाउने । म यस्तो कुरामा रुची राख्दिनँ । हिजो स्वास्थ्यमन्त्री हुँदा पनि मैले त्यसो गरिनँ । हामीले भूकम्पका बेला हामीले स्वास्थ्यमा धेरै कमेन्ट गर्ने ठाउँ नै राखेनौं,’ गृहमन्त्री अधिकारीले रातोपाटीसँग कुराकानी गर्दै भने, ‘हामी सीनमा आउने भन्दा पनि मानिसहरुको जीवन रक्षा गर्ने कुरा प्रमुख हो । फोटो खिचाएर रेस्क्यु हुँदैन । त्यसमा एउटा टेक्निकल मान्छे पठाइयो भने उसले एकजना मान्छेलाई बचाउन सक्छ ।’

गृहमन्त्री अधिकारी थप्छन्, ‘पुनःस्थापनाका बेला हामी राजनीतिक दलका नेताहरुले पनि निरीक्षण गरौंला । अहिले चाहिँ राजनीतिक दलका स्थानीय स्वयंसेवकहरूलाई परिचालन गरिदिनुपर्यो ।’

अर्थमन्त्री भन्छन्– विपद व्यवस्थापन प्राधिकरणको क्षमता बढाइन्छ :

अर्थमन्त्री विष्णु पौडेलले गत जेठ १५ गते गरेको बजेट भाषणमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संरचनामा सुधार गर्ने बताएका छन् । बजेट भाषणमा भनिएको छ, ‘विपदपछिको पुनर्निर्माणलाई तीव्रता प्रदान गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण संरचनागत सुधार गरी संस्थागत क्षमता अभिवृद्धि गरिने छ ।’

19.08¡ÆC