चाडपर्व नजिकिएसँगै उपभोग्य वस्तुको मूल्य वृद्धि

अशोज १९, २०७८ मा प्रकाशित | 334 views

बाग्लुङ । चाडपर्व नजिकिएसँगै बाग्लुङमा उपभोग्य वस्तुको मूल्य वृद्धि हुन थालेको छ । बाग्लुङमा सरकारले तोकेको नुन, चिनीको मूल्यभन्दा निकै महँगाेमा खरिद/बिक्री भएको उपभोक्ताले गुनासो गरेका छन् । सरकारले तोकेको चिनीको मूल्य ७९ र नुनको मूल्य १८ रुपैयाँ छ तर एक किलो चिनीमै १६ र नुनमा सात रुपैयाँ बढी मूल्य उपभोक्ताले तिर्दै आएका छन् । अहिले बजारमा भने उपभोक्ताले चिनीको ९५ र नुनको २५ रुपैयाँ दिँदै आएका छन् ।

चाडबाडको समयमा सस्तो मूल्यमा नुन, चिनी बिक्री गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशन डिपो कार्यालय बाग्लुङले समयमै नुन, चिनी बिक्री नगर्दा उपभोक्ता झनै मर्कामा परेका छन् । कर्पोरेशनले समयमै चिनी ढुवानी नगर्दा उपभोक्ताले चर्को मूल्यमा चिनी खरिद गर्दै आएका छन् । अहिले बजारमा चिनीको मूल्य प्रति केजी सय रुपैयाँ छ । चाडबाड नजिकिए पनि कर्पोरेशनको डिपो कार्यालय बाग्लुङले नुन, चिनी वितरण गर्ने सुरसार नै गरेको छैन ।

सरकारले गएकाे असोज १० गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन भने पनि अहिलेसम्म बाग्लुङमा त्यस्ता पसल खुल्न सकेका छैनन् । चाडबाडको समयमा अन्य कुरा महँगाेमा किन्दै आए पनि नुन, चिनी सुपथ मूल्य पसलबाटै खरिद गर्दा उपभोक्ताले राहत महसुस गर्दै आएका थिए तर यस वर्ष सुपथ पसल सञ्चालनमा नआउँदा समस्या भएको उपभोक्ता हरिप्रसाद सापकोटाले बताउनुभयो ।

‘विगतका वर्ष चिनी किलोमै १५ सस्तो र नुन चार रुपैयाँ सस्तोमा पाइन्थ्यो, अहिले चिनीको मूल्य बढेर प्रति केजी ९५ रुपैयाँ पुगेको छ भने नुनको मूल्य २५ रुपैयाँ पुगेको छ’, उपभोक्ता सापकोटाले भन्नुभयो, ‘उपभोक्ताले चाडबाडको मुखमा महँगाे मूल्य तिर्दासमेत सरकोकारवाला निकाय मौन छ ।’ बिचौलियाले एक केजी चिनीमै १६ र एक केजी नुनमा सात रुपैयाँ नाफा खाँदै आएका छन् ।

भारतबाट चिनी आयात नहुँदा दशैँअघि नुन, चिनीको सुपथ पसल खोल्ने सम्भावना निकै कम रहेको कर्पोरेशन डिपो कार्यालय बाग्लुङका प्रमुख मनोज श्रेष्ठले बताउनुभयो । ‘भन्सार छुट प्रक्रियाले ढिलाइ भएको भन्ने जानकारी पाएको छु, म निरन्तर सम्पर्कमा भए पनि दशैँअघि चिनी आउने सम्भावना निकै कम छ, चिनी आउनासाथ पसल खुल्नेछ’, उहाँले भन्नुभयो । भन्सार छुटका लागि आपूर्तिले अर्थ मन्त्रालय, अर्थ मन्त्रालयले भन्सारमा चिठ्ठी पठाउनुपर्ने र प्रतिस्थापन बजेटले गर्दा केही समस्या भएको बुझिएको उहाँको भनाइ छ । चिनी आए तिहारमा भए पनि सस्तो मूल्यमा उपभोक्तालाई वितरण गर्ने योजना रहेको श्रेष्ठले बताउनुभयो ।

कहिले चिनीको मूल्य निर्धारण नहुँदा गोदाममै चिनी थन्किएको र अहिले चिनीको मूल्य समयमै निर्धारण भए पनि चिनी नआएको डिपो कार्यालयको भनाइ छ । गोदाममा नुन रहे पनि चिनी नआउँदा सस्तो पसल खुल्न नसकेको डिपो कार्यालयको भनाइ छ । डिपोले थोक मूल्यमा उपलब्ध गराएको नुन, चिनी सस्तोमा बिक्री गर्न आग्रहसमेत गर्दै आएको छ । कर्पोरेशन डिपो कार्यालय बाग्लुङले चिनी दिन नसकेपछि खुला बजारमा चिनीको मूल्य बढेको हुन सक्ने तर नुनको मूल्य भने बढाउन नपाइने बाग्लुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो ।

‘सरकारले तोकेको मूल्यमा व्यापारीले चिनी नपाएको गुनासो छ, त्यसैले बजारमा प्रति केजी ९५ रुपैयाँ परेको होला तर नुन त १८ रुपैयाँमा खरिद गरेपछि २० रुपैयाँमा बिक्री गर्नुपर्‍याे’, प्रजिअ कार्कीले भन्नुभयो, ‘२५ रुपैयाँमा नुन, बिक्री गरेको गुनासोसमेत आएको छ, यस्तो गर्न पाइँदैन, हामीले त्यस्ता व्यपारीलाई तत्कालै कारबाहीको दायरामा ल्याउने छौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web