भारतको गोरखपुरमा नेपाली युवकको हत्या

अशोज १४, २०७८ मा प्रकाशित | 531 views

काठमाडौँ । भारतको गोरखपुरमा एक नेपालीको हत्या गरिएको छ । स्याङ्जाको भकुण्डे पुर्ख्यौली घर भई नवलपरासीको सुनवल नगरपालिकाको भूमहीमा बस्ने २८ वर्षीय कृष्ण गौडेलको हत्या भएको हो ।

रोजगारीको सिलसिलामा दिल्लीको नोयडामा रहेका गौडेलको भदौ २४ गते नेपाल फर्कने क्रममा उत्तरप्रदेशको गोरखपुरमा रिक्सामा सवार रहेका बेला लुटपाटपछि रड प्रहार गरी गौडेलको हत्या भएको थियो ।

हत्यापछि उक्त घटना लुकाउन शवलाई नष्ट गर्ने योजनासहित सोही रिक्सामा लगिरहेको अवस्थामा स्थानीय युवा प्रदीप यादवले रोकेर प्रहरीलाई खबर गरेका थिए । उक्त घटनाका दोषीलाई कारबाही र मृतक कृष्ण गौडेललाई न्याय दिलाउन माग गर्दै नवलपरासीका संघीय सांसद देवेन्द्रराज कँडेलसहितको टोली गोरखपुर पुगेर भारतको संविधानअनुसार हत्यामा संलग्नलाई मृत्युदण्डको सजाय मागसहित मुद्दा दर्ता गरेको कँडेलका स्वकीय सचिव कमलकिशोर रायमाझीले बताए ।

मृतकको परिवार आफैं भारत पुगेर न्यायिक लडाइँ लड्न कठिन भएकाले सांसद कँडेल गोरखपुर पुगेर मुद्दा दर्ता गरेको रायमाझीले बताए । गौडेलको शव लुकाउन खोज्नेसँग प्रतिकार गरेका युवा प्रदीप यादवलाई सांसद कँडेलले नगद पुरस्कारसहित सम्मान गरेका थिए । प्रहरीले घटनामा संलग्न भएको आरोपमा १८ वर्षीय युवकलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web