काठमाडौं महानगरका विद्यालय आजदेखि सञ्चालन

अशोज १०, २०७८ मा प्रकाशित | 294 views

काठमाडौँ । कोरोना महामारीसँगै वैशाखको दोस्रो साता बन्द भएका काठमाडौं महानगरपालिका भित्रका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् ।

काठमाडौं महानगरपालिकाले आवश्यक मापदण्ड पालना गराएर विद्यालय सञ्चालनमा ल्याउन सकिने निर्णय गरेपछि यहाँका विद्यालय सञ्चालन हुने भएका हुन् ।

दसैँको मुखमा विद्यालय सञ्चालन गर्ने महानगरपालिकाको निर्णयले भने अभिभावक अन्योलमा परेका छन् । काठमाडौँ वसन्तपुर निवासी यशोदा थापा भन्छिन्, ‘कोरोनाको डर कायमै छ, दसैँ आइसक्यो, खोप लगाएको छैन, यो हप्तामात्रै विद्यालय पठाएर के गर्नु ?’

तर, महानगरपालिकाको विद्यालय सञ्चालन गर्ने निर्णय बाध्यकारी भने छैन । सञ्चालन गर्न चाहने विद्यालयलाई स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न सकिने निर्णय महानगरपालिकाले गरेको छ । त्यसो त काठमाडौं उपत्यकामा यसअघि पनि केही विद्यालय सञ्चालन भैरहेका छन् ।

महानगरपालिकाले यही असोज १० गते आइतबारदेखि भौतिकरूपमा नै विद्यालय खोल्ने निर्णय बिहीबार गरेको थियो । सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर र मोडर्ना नामक कोरोना भाइरसविरुद्धको खोप दिने तयारी गरिरहेको छ ।

विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कारण गत वैशाखको दोस्रो सातादेखि बन्द रहेका विद्यालय भौतिकरूपमा खोल्ने निर्णय गरिएको थियो । कामपा शिक्षा विभागको बुधबार बसेको बैठकले विद्यालय खोल्न अनुमति दिने निर्णय गरेको हो ।

विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालय भने खोल्नका लागि अनिवार्य नगरेको पनि महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web