लमजुङ कांग्रेसमा लफडा, नगर अधिवेशन स्थगित

अशोज १०, २०७८ मा प्रकाशित | 476 views

लमजुङ । नेपाली कांग्रेस लमजुङ राइनास नगरपालिका समितिको चुनावमा मतपत्रमा अंक र एउटा धर्को छुटेको विवादले मतपत्र नै जलाइएको छ । मतपत्रमा सभापतिको उम्मेदवारको क्रम संख्या र मतदान गर्दा चिह्न लगाउने ठाउँमा धर्को छुट्दा उत्पन्न विवादले राइनास तनाबग्रस्तमात्रै बनेन, निर्वाचन नै स्थगित भएको छ ।

राइनास नगरमा कांग्रेस सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा थिए । देउवा समूहबाट नुरराज कडरिया र पौडेल समूहबाट श्रीकृष्ण पौडेल नेतृत्वको प्यानल राइनास समितिको प्रतिस्पर्धामा उत्रिएको थियो ।

दुई समूहबीचको टकराब र मतदान हुने केन्द्र विवादसमेत रहेको राइनासमा करिब ६१ प्रतिशत मतदान भइसकेपछि निर्वाचन नै स्थगित हुन पुगेको हो । सभापतिको उम्मेदवार नुरराजको नाम मतपत्रको क्रम संख्या १ मा थियो । अर्का सभापतिका उम्मेदवार श्रीकृष्ण नाम दोस्रो नम्बरमा थियो तर क्रम संख्या भने १ नै उल्लेख छ ।

मतपत्रमा नुरराजलाई मत संकेत लगाउने कोठा बनाइएको छ भने श्रीकृष्णको मत संकेत गर्ने ठाउँमा एउटा अर्को नै छुटेको छ । करिब ५० जनाले मत खसालिसकेपछि यो विषयमा विवाद सुरु भएको थियो । विवादकै बीच १ सय ३४ जनाले मतदान गरिसकेका थिए ।

मतपत्रको विषयमा लफडा चर्किएपछि मतदान रोकियो । तर, विवाद रोकिएन । सुनियोजित रुपमा आफूलाई हराउन मतपत्र गलत छापिएको श्रीकृष्ण समूहले आरोप लगायो । ‘मेरो जीत निश्चित देखेपछि भएको षडयन्त्र हो । मतदान हुनुभन्दा पहिले नै मलाई मतपत्र देखाउनुपर्थ्यो, त्यो गरिएन । क्रम संख्या दुबैको १ राखियो । त्यतिमात्रै होइन मेरोमा मतदान गर्ने बक्स नै कोल्याप्स गरिएको थियो,’ उम्मेदवार श्रीकृष्णले भने, ‘अल्फाबेटअनुसार पनि स्वभाविक हिसाबले मेरो नाम अगाडि आउनुपर्थ्यो तर पछाडि राखियो ।’

अर्का उम्मेदवार नुरराजले मतदान प्रक्रियामा जानुभन्दा अगाडि नै विचार नपु¥याउने तर बीचमा पुगेर षडयन्त्रपूर्वक रोकिएको आरोप लगाए । ‘१ सय २३ मत खसिसकेको थियो । मतपत्रमा गल्ती भए सुरुमै भन्नुपर्थ्यो,’ सभापतिका उम्मेदवार नुरराजले भने, ‘सहमतिमै निर्वाचन प्रक्रिया अगाडि बढाइएको थियो । मेरो जीत सुनिश्चित थियो । उहाँको अवस्था कमजोर नै थियो । तर, विवादले चुनावै स्थगित भयो ।’

दुई पक्षबीच २ घन्टाभन्दा बढी समय विवाद भएको थियो । दुबै समूहबीच हात हालाहालको स्थिति सिर्जना भएपछि अन्तत मतपत्र नै जलाएर निर्वाचन स्थगित गर्न दुबै पक्ष सहमत भएका हुन् ।

दुबै पक्षका प्रतिनिधि बोलाएर मतपत्र दिइएको र मतपत्र पहिले नै भित्तामा टाँसेर सार्वजनिक गरिएको निर्वाचन अधिकृत दिनेश चिलुवालले जानकारी दिए ।

‘मतपत्रमा एउटा धर्को छुटेर त्रुटि भएछ । उम्मेदवारका प्रतिनिधिले स्वीकृति दिएपछि निर्वाचन प्रक्रिया अगाडि बढाएका थियौं,’ चिलुवालले भने, ‘दुबै समूह सहमतिमा आउन सक्ने स्थिति नदेखिएपछि मतपत्र नै जलाउनुपर्ने स्थिति आयो ।’ सुनियोजित रुपमा नभइ मतपत्र छपाइमा त्रुटि भएको निर्वाचन अधिकृत चिलुवालले बताए ।

दुबै समूहले आफूहरुको जीत सुनिश्चित रहेको दाबी गरेका थिए । श्रीकृष्ण नेबि संघका पूर्व जिल्ला सचिव हुन् भने नुरराज पूर्व कर्मचारी हुन् । राइनासमा देउवा र पौडेल समूहबीच तिक्ततापूर्ण प्रतिस्पर्धाका कारण समस्या सिर्जना भएको स्थानीय बताउँछन् ।

यसअघि १४ औं महाधिवेशनमा मतदान केन्द्र कहाँ बनाउने भन्ने विषयमा पनि राइनासमा विवाद भएको थियो । एउटा समूहले वडा नम्बर ४ को सातबिसे र अर्को समूहले वडा नम्बर ७ को धमिलिकुवामा केन्द्र बनाउने कडान कस्दा विवाद भएको थियो ।

धमिलिकुवामा मतदान केन्द्र बनाउन सहमति जनाइएको सभापतिका उम्मेदवार श्रीकृष्णले बताए । रोकिएको निर्वाचन अब कांग्रेस केन्द्रीय कमिटीको निर्णयपछि मात्रै सुरु हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web